मिति २०७७ मंसीर १ गते भाइटीकाको दिनको कुरा ।
फेरि हुतहुती जाग्यो। दुई वर्ष अघि गएको थिएँ। त्यस अघि पनि पुगेको थिएँ, पछि फेरि पुगेँ। अझै पुग्ने मन भो। जति पुगे पनि धीत नमर्ने। अचम्म! कुनै नाता गाँसे जस्तो।
हो – म कुरो गर्दैछु बोसनको। बोसन डाँडाको।
आज मेरा मित्र सरोज भट्टराईले सोधेका थिए कि यो डाँडाको नाम कसरी बोसन रहन गएको होला भनेर! कतै बोसन र हिग्स बोसोन (ईश्वरीय कण) मा कुनै सम्बन्ध छ कि? हुन त यी दुईका बीचको तारतम्य टाढा टाढासम्म कतै देखिनँ मैले त। तर भन्ने हो भने प्रकृति आफै ईश्वरीय रुप हो भने ईश्वरीय कण तिनमा व्याप्त नहुने कुरै भएन। तर यस वारे विहङ्गावलोकन बाहेक गुढ रहस्यको गहिराईमा म जस्तो अल्पबुद्धि पुग्ने हैसियत राख्दैन। त्यसैले कुरालाई बङ्ग्याएर आफ्नो ज्ञान भए तिर तानतुन गरिवरी ढाकछोप गरेँ।
हुन पनि कैयौंपटक यो ठाउँ पुगेर पनि यो डाँडा (र गाउँकै पनि) को नाम बोसन कसरी रह्यो भन्ने बारे सोधखोज गर्ने हेक्का कहिल्यै राखिनँ। तर यसको उत्पत्ति बारे मैले सुनेको किम्वदन्ती मेरो नियात्रा “बोसनको सेरोफेरो यथार्थको अनुभूति” मा उल्लेख गरेको थिएँ। जुन म यहाँं उद्धृत गर्न चाहन्छु,
“…भनिन्छ कि जब महामन्जुश्रीले खड्गले काटेर काठमाडौं उपत्यकाको पानी बाहिर पठाए, पानी सँगसँगै बग्दै कर्कोटक नाग पनि बाहिरिन लाग्यो। कर्कोटकलाई बाहिरिनबाट बचाउन र उपत्यकामै रहने बन्दोबस्त गर्नका लागि टौदह बनाइयो। सो ताल खन्दा निस्केको माटो थुप्रेर यो बोसन डाँडा बनेको भन्ने किम्वदन्ती छ।” कर्कोटक नाग तिनै हुन् जसको भोटो हामी हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन जाउलाखेलको भोटो जात्रामा घाँटी तन्काउँदै हेर्छौं, जसको सौभाग्य यस वर्ष भने कोरोनाका प्रतापले प्राप्त हुन सकेन।
अब कुरैकुरामा टौदहको प्रसङ्ग उप्केपछि यसका नामाकरण वारे पनि उल्लेख गरिहालौं। नेपाल भाषामा सर्प/नागलाई ‘ताहा’ भनिन्छ। जसको मतलब लामो भन्ने हुन्छ (सर्प जो लामो हुन्छ)। यी प्रजातिलाई नाम किटेर उच्चारण गर्नु हुन्न, नत्र किन सम्झिस् भन्दै सुलुलुलु आईपुग्छ भन्ने जनश्रुति अनुसार यसलाई सांकेतिक रुपमा ‘लामो’ अर्थात् ‘ताहा’ भन्ने गरिएको हो भन्ने जनविश्वास छ। ‘ताहा’ बाट नै अपभ्रंश भै ‘टाहा’, ‘टा’ हुँदै ‘टौ’ हुन गएको र कर्कोटक नाग याने टौ (ताहा) बस्ने दह भएकोले यस तालको नाम “टौदह” रहन गएको भन्ने जनश्रुति मैले सुन्दै आएको हो। तपाईंहरुले पनि सुन्नुभएकै होला।
यी पाङ्दुरे गफलाई यतै थाँतीमा राखेर अब चढौं बोसनको डाँडा। है त।
दुई वर्ष अगाडि जुन बाटो पहिल्याएको थिएँ। आज पनि त्यही बाटो पहिल्याएँ। नोस्टाल्जियालाई सम्वोधन गर्न भनुँ या बाटोको हालखबर बोध गर्न भनुँ। तर हालखबरको कुरा गर्दा मन कटक्क खायो। प्रकृतिको दोहन यतै पनि भैसकेछ – दुई वर्ष भित्र। उ बेला झ्यासबाट बँदेल निस्केला भनेर डराई डराई चढेको जङ्गलका छेउछाउमा समेत जोडी ढुक्कुरका लागि बास बन्न थालिसकेछ। कुरो बुझिहाल्नु भो होला। तनमा आगो लाग्नेहरुलाई त ठीकै होला। मनमा आगो लागेर प्रकृतिको सहारा लिनेहरुलाई अन्याय भएको महसुस भयो। तर ठीकै छ, रोजगारीका लागि विदेश जाने औडाहाबाट थोरै भए’नि युवाहरुले त्राण पाई यतै अल्मलिने भए भन्ठानेर चित्त बुझाएँ।
पातलिएको जङ्गल छिचोल्दै गर्दा परार यहीँ भेटेको बोसनका बूढालाई यी आँखाले अनायास खोज्न थाले। कहाँ हुँदा हुन्? आरामै त होला नि! कतै छोरोले दुबई लिएर त गएन? गए राम्रो! एक्लो ज्यान धुम्धुम्ती बस्नु कम्ता सकस हुन्न? त्यो बेला घर ठ्याक्कै कता भनेर सोधिएन। नत्र पस्नु हुन्थ्यो। मनमा थकथकी लाग्यो।
लामो यात्रा नहिँडेको जुगै भैसकेको थियो। स्ट्यामिनाले हावा खाईसकेछ। यति जाबो उकालोले पनि ज्यानै लेला जस्तो भो। घिस्री घिस्री डाँडाको टुप्पो पुग्ने बेलाको एक सय असी डिग्रीको घुम्तीमा पुग्दा त्यहाँ भर्खरै बनिभ्याएको लिमन ग्रास रिसोर्टको आँगनबाट देखिने नजाराले थकित ज्यानमा पुनर्ताजगी प्राप्त भयो। देब्रेतिर दहचोक डाँडादेखि शिवपुरी हुँदै फुलचोकीसम्म सब छ्याङ्गै देखिने। चोभार, टौदह, सिकाली, खोकना आदि ठाउँहरु झ्यालबाट चोकतिर नजर दौडाउँदा देखिए झैं आँखाकै सामुने सब छर्लङ्गै। तर भोकाएको पेटमा केही दाना अन्न प्रवेश गराउने प्लान भने ढलान भो। चाहाडको बेला कुक घरप्रस्थान गर्नुभएछ। आफू भने भोकै रहने भईएछ। लौ बधाई छ! फुकाफाल तालले हिँड्न गईयो। अब परेन फसाद?
तै डाँडाको टुप्पोमा अरु दुई रिसोर्ट बाँकी नै छ नि भन्ने सोच्दै अनि मुख मिठ्याउँदै उकालो लागेँ। तर अफसोस! यता पनि उही ताल। उफ्फ!
भोको पेटमा ब्लु माउन्टेन रिसोर्टको प्राङ्गणमा चर्दै गरेको विशाल घोडोको टाउकोको प्रतिमा अगाडि दुईचार्टा फोटालाई पोज दिएँ। फेसबुकमा यही घोडाको टाउको अगाडि पोजिएका फोटा देख्दा देख्दा कुन बेला यसका सामुने तेर्सिएर फोटो खिँचाउँ भन्ने भा’थ्यो। ईच्छा पूरा भो। पेट भने खाली नै रह्यो। हे भगवान!
अब आस भनेको त्यहाँको सबैभन्दा पुरानो र अत्यन्त प्रख्यात ह्वाईट हाउस रिसोर्टकै बाँकी थियो। लौ न नि! यो पनि बन्द! धत्तेरी! बन्दसम्म भए हुन्थ्यो नि, तर त्यही रिसोर्टको बाहिरको चौरमा एक हुल केटाहरु बार्बेक्यु गर्दै बियर पार्टी गर्दै थिए। ह्वार्ह्वार्ती बास्नाले कम्ता औडाहा भएन? पापीहरु!
अँ, कुरो यस्तै हो। बरु यहाँहरु मेरो भोको पेटको माहात्म्य सुन्दा सुन्दा वाक्क भएर मलाई लखेट्न आउनु अघि म चैं धुन्मुनिँदै डाँडा ओर्लिवरि कतै पेटपूजा गर्ने निधो गर्दै त्यताबाट रवाना भएँ।
अँ साँच्ची, मैले माथि उल्लेख गरेको मेरो अघिल्लो बोसन यात्रा बारे पढ्न चाहनुहुन्छ भने लिङ्क यहाँ तल राखेको छु है। पढ्नुस् है त!
https://www.setopati.com/literature/168186
फेसबुक पोष्ट मिति: २०७७ ।०८ ।०२