छोरीलाई चिट्ठी

प्यारी छोरी निशिता !

धेरै धेरै शुभाशिष् अनि सम्झना,

तिमी पढ्न विदेश गएको अब त महिनादिन भयो । प्रविधिका मद्दतले हरेक दिन आमुनेसामुने बसेर कुराकानी गर्न पाएर के गर्नु ? कतिपय कुरा अक्षरले बोल्नसक्छ, जुन मुखले बोल्नसक्दैन । 

त्यसैले छोरी, तिमीसित आज मेरा अक्षरहरु बोल्नेछन् । 

थाहा छ ? त्यो दिन मैले लगाइराखेको कालो कटराइजको कोट दुई फग्ल्याँटो पारेर च्यातिएको थियो – अस्पतालको भर्‍याङको रेलिङमा अल्झिएर । मन चरक्क च्यातिएको थियो । किनकि त्यो मलाई साह्रै मनपर्ने कोट थियो । त्यसको ठ्याक्कै भोलिपल्ट तिमी धर्तीमा आयौ । सानो मुसोजस्तो ज्यान बोकेर । मेरो च्यातिएको मन टालियो । तिम्री आमा थकित ह्वीलचेयरमा । तिमी आमाको अँगालोमा । कपडाले लपक्क बेरिएकी । सानो अनुहार कपडाको कापबाट चियाएको थियो । बन्द आँखा । छिनछिनमा हाई काढ्दा देखिने थोते मुख । तर अलि छिटो धर्तीमा जो आयौ र आफूलाई सबल राख्न प्रविधिको मद्दत लिनुपर्‍यो तिमीले त्यसबखत । तिमी भेन्टिलेटरभित्र हुलियौ । त्यो दिन हिजै जस्तो लाग्छ ।

 

छोरी र छोरीकी आमा, दशैँ २०७८ को टीकाका दिन

अँ, म सम्झिन्छु, पाटन अस्पतालको शीशाको सानो भेन्टिलेटरभित्र तिमीलाई सुताइराखेको । स्यानो न स्यानो ज्यान घोसेमुन्टो लागेर घुस्रेको हुन्थ्यो । भेन्टिलेटरको मधुरो बत्तीमा देख्थेँ, तिमी आफ्नो जिउलाई सकिनसकी कोल्टे पार्न खोज्दै गरेकी हुन्थ्यौ । छिनछिनमा जिउ मिलाइदिनु पर्थ्यो । उतानो पर्दा बत्तीको चमकले आँखालाई असर नपारोस् भनेर नीलो पट्टी आँखामा राख्न लगाइन्थ्यो । हामीले कोरोनाकालदेखि लगाउन थालेको फेस-मास्कजस्तो । थाहा छ ? अझै सुरक्षित राखेको छु, त्यो फुच्चे पट्टी । सम्झनास्वरुप !

छोरी र म, बुवाको भिमरथारोहणको सन्ध्याभोजका बखत

हरेक विहान रगतजाँचका लागि तिम्रो त्यो मसिनो अनि कलिलो पुट्ठोबाट रगत निकालिन्थ्यो । सियोले जब घोचिन्थ्यौ, पीडाले तिमी जब रुन्थ्यौ, मन यो कत्ति दुख्थ्यो, तिमीलाई के थाहा ! लाग्थ्यो, विहान कहिल्यै नभैदिएहुन्थ्यो ।

मुखबाट तिमी खान सक्दैनथ्यौ, पाइपबाट दूध खुवाउनुपर्थ्यो । त्यति सानो तिम्रो ज्यानको नाकबाट पाइप घुसाइएको थियो, जसमा ड्रीपका मद्दतले दूधलाई चम्चीबाट तर्काउनुपर्थ्यो । भेन्टिलेटरको दुईतिर भित्तोमा खोपिएका प्वालबाट हात घुसारेर । मन कटक्क खान्थ्यो, तिमीले पाएका अनगिन्ती दु:ख देखेर । 

तर आज सम्झिँदा मन आनन्दित हुन्छ, किनकि त्यतिखेरको त्यो दुर्बल स्यानो ज्यान फैलिएर मसरि बनिसकेको छ । मलाई भरोसा दिनसक्ने बनिसकेको छ । अब त लाग्छ, म अडेस लागेर थकाई मार्न सक्छु, तिम्रो भरोसा लिएर अडिन सक्छु । बिस्तारो जो अब म थाक्दै जाँदैछु । लाग्छ, अब तिम्रो भर लिएर म हिँड्न सक्छु, जसरी त्यसबखत मेरो भर लिएर तिमी ताते गर्दै हिँड्न सकेका थियौ । लाग्छ, अब तिम्रो आड लिएर म सँसारसँग भिड्न सक्छु, जसरी कुनैबखत तिमी मेरो आड लिएर सँसारसँग लड्ने हिम्मत राख्थ्यौ । बस्, तिम्रो काँधमा यी हात हालेर म आफू एक्लो छैन भनेर आफैलाई ढाडस दिलाइरहुँ । मेरो बुढेसकालको सहाराको रुपमा तिमीलाई मेरो छेवैमा पाइरहुँ ।

तिमीलाई सधैँ माया गरिरहने,

तिम्रो बाबा ।

(२०८१ चैत्र १६ गते शुक्रबारको नामी साप्ताहिकमा प्रकाशित)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *