एक्लो विरक्तिलो उभिएको बूढो रुख अनि मेरो चोभार ब्लुज !!!

लाग्छ म यतै कतै चोभारमै अड्केको छु । लाग्छ म यतै कतै भट्किरहेको छु । अनि त म यतै कतै घुमिबस्छु । यतैका गन्थनमा अल्झिरहन्छु ।

कुरैकुरामा एउटा प्रसङ्ग याद आयो । धेरैले सोध्ने गर्छन् कि कतै ‘चोभार ब्लुज’ निकथासङ्ग्रहभित्र रहेको शीर्षक निकथा ‘चोभार ब्लुज’का एक प्रोटागोनिस्ट ‘बिजेन’ म नैं त हैन ? हुन त पात्र रच्दा मैले कहिल्यै यो सोचिनँ । बस्, तीन पात्र चाहिएको थियो, जसका नाम अङ्ग्रेजी वर्णमालाका पहिलो तीन अल्फाबेटबाट शुरु हुन जरूरी थियो । A, B र C बाट । A बाट मनमा झ्वाट्ट ‘अभय’ नाम आइहाल्यो । हिन्दी सिनेमाका हस्ती धर्मेन्द्रका सुपुत्र सन्नी देओल र बब्बी देओलका कजन ब्रदर अभय देओल मलाई अच्छा लाग्ने एक्टरमध्येका एक जो हुन् । C बाट स्त्रीपात्रको नाम चाहिने । त्यसबखत खासै कुनै याद आएन । बल्ल एउटा नाम याद आयो, चारुमती । जसबाट मेरो पात्र ‘चारु’को जन्म भयो ।

अब रह्यो, B बाट नाम उठ्ने अर्का मुख्य पात्रको नाम । किन हो कुन्नि, मनले ‘बिजेन’ भनेर बोल्यो । ६ वर्षअघि म बोर्ड डाइरेक्टर रहेको एनसिएम मर्चेन्ट बैंकिङ (हाल लक्ष्मी सनराइज क्यापिटल) का बिजेन्द्रको नामबाट प्रभावित भएको पो हुँ कि जस्तो पनि लाग्यो । तर हैन, अहिले सोच्दा मैले त्यो पात्र मलाई नै सोचेर रचेको रैछु । एउटा लेखक । भावुक । ल्याङ्फ्याङ् । एक्लैएक्लै चोभार डाँडाको थाप्लैथाप्लो हिँड्ने म सिवाय अरु को हुनसक्छ र ? नाम पनि मेरो सब-कन्सियस माइन्डले मेरै नामको एक्रोनिम (acronym) बाट बनाएछ । बिक्रमको B, जोशीको J र आखिर म नेपाली न हुँ, नेपालीको N … तीनवटै अल्फाबेट जोड्दा … बिजेन ! 🙂

कहिलेकाहीँ केलाउन खोज्छु ‘बिजेन’ र म बीचका अन्तर

अब गरौँ, फेरि एकपटक ‘चोभार ब्लुज’ को कभर पेजको रुखको गन्थन । पुस्तकको ड्राफ्ट तयार भैसक्दा पनि कभर बनिसकेको थिएन । नाम त ‘चोभार ब्लुज’ सोचिसकेको थिएँ । भनेपछि कभरमा चोभार आउनु परिहाल्यो । यही सोचेर ‘बिजेन’ रुपी म चोभार डाँडाको फन्को लगाउन थाल्यो । विभिन्न कोणबाट हेरेँ । उत्तरतर्फबाट हेर्दै नै आएको हो । देखिरहेकोले हो कि, खास लागेन । पूर्वतर्फबाट हेरेँ । पश्चिमबाट पनि हेरेँ । चित्तबुझ्दो पाइनँ ।

एकदिन पाँगातिरबाट हिँड्दै जाँदा हुप्पील्यान्ड वाटर पार्कनिरको डाँडामा पुगेर दक्षिणबाट उत्तरतिर फर्केर हेर्दा चोभार डाँडा खुब सुन्दर देखेँ । मौसम पनि खुलेको थियो । शिशिर याम थियो । डाँडाको रङ भने फुङ्ङ उडेको थियो । रुखका पात झरेर उराठिलो थियो । लाग्यो कि पुस्तकको शीर्षकमा रहेको ‘ब्लुज’ अर्थात् ‘अवसाद’पनलाई यसले सार्थक बनाउनेछ । अनि रोजेँ एउटा ठिङ्ङ उभिएको एक्लो रुख । जुन देख्दा नै पनि मन कटक्क खाने खालको । एक्लो, विरक्तिलो । सदियौँदेखि कसैको प्रतीक्षामा उभिएको बूढो रुख । त्यही रुखको तस्बिर खिँचेँ- चोभार डाँडा ब्याकग्राउन्डमा आउने गरि ।

मैले खिँचेको त्यही तस्बिरलाई आधार बनाएर चित्रकारितामा एकदम टेलेन्टेड दीपक गौतमले एउटा सुन्दर ग्राफिक डिजाइन गर्नुभयो । जुन मेरो पुस्तकको कभर बनेर जीवन्त बन्यो ।

अनि केही दिन अघि…

केही दिन अघि ती ‘यादेँ’ लाई पुन: ताजा पार्न म फेरि उहीँ पुगेँ । त्यही रुखमुनि सुस्ताएँ । थोरै पल वार्तालाप गरेँ- तिनै रुखसँग । अचानक देखेँ, वार्तालाप गर्ने म थिइनँ त्यहाँ । ती ‘बिजेन’ थिए । म थोरै पर बसेर तिनीहरुको वार्तालाप सुनिबसेँ- ओँठमा मन्द मुस्कान खेलाउँदै ! 🙂

(२०८१ वैशाख १४ गते शुक्रबारको नामी साप्ताहिकमा प्रकाशित)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *