२०३२ सालमा एउटा हिन्दी सिनेमा आएको थियो। पाटनको अशोक हलमा हो क्यारे। भर्खरै दिवंगत भएका हिन्दी सिनेमाका चकलेट हिरो ऋषि कपुर तथा उनकै पत्नी नीतु सिँहद्वारा अभिनित। त्यो सिनेमा थियो – “खेल खेल में”। ऋषिको पहिलो लिड रोल रहेको सिनेमा “बब्बी” पछिको उनको चौथो फिल्म हो यो। यसै फिल्मबाट चलेको यिनको र नीतु सिँह बीचको प्रेम चक्कर “रफ्फु चक्कर”सम्म पुग्दा दरिलो भैसकेको थियो, जुन पछि बिहेमै पुगेर टुङ्गियो।
म सानै थिएँ त्यो सिनेमा लाग्दा। यस्तै आठ वर्षको हुँदो हुँ। मैले यो प्रसङ्ग उठाउन खोजेको ऋषि-नीतुको प्रेम प्रसङ्ग कोट्याउन नभै त्यस फिलिमका गानाका सम्वन्धमा हो। त्यो बेला हिन्दी सिनेमाको प्रभाव नेपाली समाजमा गहिरो रुपमा परेको थियो। हुन त अहिले पनि परेकै छ। मलाई याद छ, “शोले” फिलिम हेर्न मानिसहरु यहाँदेखि रक्सौल पुग्थे। किनकि त्यतिबेला धर्मेन्द्रको सिनेमा यहाँ लाग्दैनथ्यो। राजाका वारे नराम्रो बोल्यो भनेर ‘ब्यान’ गरिएको थियो।
अँ, म कुरा गर्दै थिएँ “खेल खेल में” का गानाका वारे। एउटा गाना थियो – “हमने तुमको देखा…”। फुच्चे म, त्यो गानाको दिवाना थिएँ। बुझ्नु सुझ्नु थिएन। हिरोले लामो न लामो गलबन्दी लगाएर गिटार बजाउँदै स्टेजमा गाएको त्यो गानाले मेरो बालमस्तिष्कमा गहिरो छाप पारेको थियो।
यसै फिलिमको अर्को गाना त झनै मन पर्थ्यो। बोल थियो – “एक मैं और एक तू, दोनों मिले इस तरह। और जो तन मन में हो रहा है, यह तो होना ही था।”
यस गानामा नीलो ब्लेजर कोट लगाएका ऋषि र आकाशे रङको छोटो मिडी लगाएकी नीतुको भावभङ्गिमा देख्दा त्यो बेलाको बालसुलभ नजर चकाचौंध भएको थियो। रतिरागले दिलोदिमागमा बास नबसिसक्दाको समयमा ती हाउभाउमा एउटा चोखो लगाव बनेको थियो।
र, आज त्यो गाना फेरि याद आयो। कमसेकम गानाको बोल। त्यो बेला त्यसको अर्थ भन्दा हाउभाउमा लठ्ठिएँ। आज भने त्यो गानाको बोलको अर्कै अर्थ अर्थ्याएँ।
देशमा आजकल राष्ट्रियताको हुँकार चल्दैछ। हरेक नेपाली जनता कालापानी, लिपुलेक र लिम्पियाधुराको तीनकुने चोसोमा आफ्नो इज्जत अडेको देख्दैछ। खुसी छन्। नेपाली नेपाली बीच एउटा नजानिँदो साईनो गाँसिएको छ – जसको अर्को टुप्पो तिनै चोसोमा पुगेर अड्किएको छ।
यस्तैमा दक्षिणको हावामा बग्दै बग्दै कोही मेरियट होटेलमा सुटुक्क पस्यो। कोकोसँग के के खासखुस चल्यो खै कुन्नि? कुन कुन बुँदामा के पो कुरो मिल्यो खै कुन्नि? सुन्छु, निशान छापमा त्यो चोसे नक्सा समेटिने छाँटकाँट धमिलिँदै छ। संविधान संशोधनका कुरोमा अर्घेल्याईं हुँदैछ। हुन पनि यहाँका अगुवा भनाउँदाहरुको छिमेकपरस्त लम्पसारवाद देख्दा यो त हुनु नै थियो जस्तो लाग्छ। अचम्म के नै भो र जस्तो पनि लाग्छ।
‘ये तो होना ही था… ‘
अनि म गुनगुनाउन थाल्छु, मेरो बाल्यकालको त्यो प्रिय गीत। मेरा त्यस बेलाका प्रिय चकलेट हिरो ऋषिको सम्झना गर्दै। उनको दिवँगत आत्माको चिर शान्तिको कामना गर्दै।
एक मैं, और एक तू
दोनों मिले इस तरह
और जो तन-मन में हो रहा है
ये तो होना ही था