आउनुस्, आज एकैछिन अठहत्तर वर्षअघिको भक्तपुरको एउटा गाउँ पुगौँ । नेवार बस्ती । साल २००२ को माघ । ठिहिर्याउने जाडो । एउटा घरअघि एक हुल मानिस जम्मा भएका छन् । सुरुवाल घुँडाघुँडासम्म सारेका जवानहरु होचो ढोकाबाट भित्र बाहिर गर्दैछन् । ठिक सामुन्नेको घरको बार्दलीमा एउटा चार वर्षको बालक काठको डण्डी समाएर उभिएका छन् ।
पल्लो घरमा रमिता चल्दैछ । ऊ टुलुटुलु हेर्दैछ । के हुँदैछ उसलाई थाहा छैन । उसलाई भोक लागेको छ । उसँगैका एउटी सानी केटीले उसलाई ‘खोलाचा’बाट केही झिकेर ख्वाउँदैछ । उसले आफ्नी आमाको दूध खान नपाएको आज ठ्याक्कै एक महिना भैसक्यो । उसलाई आमा भेट्न किन दिइएन, ऊ बुझ्दैन । आमालाई ऊ सम्झिन्छ । चिच्याउँदै रुन्छ । फकाउने तिनै केटी हुन्छिन् । ती उसलाई माया गर्ने आफन्त हुन् भन्ने उसलाई थाहा छ । नाताले फुपू भए’नि ‘अता’ (दिदी) भनेर बोलाउँछन् । छ वर्ष त जेठी छिन् । उसलाई हेरविचार गर्ने ती कलिली केटीको काखमा बसेर ऊ अब अरु रमिता हेर्नथाल्छ । रमिता चर्किँदो छ ।
पल्लो घरको ढोकाबाट सेतो कपडाले ढाकेको कुनै लाम्चो आकारको सामान चारजनाले चारतिर बोकेर निकाले । एकजना लक्का जवान पट्ठो खुइय्य सास फेरेर छेवैको फल्चामा थुचुक्क बसे । बस्ने तिनी उनका बाबा हुन् भनेर चिनिहाले । त्यत्तिकैमा सबैतिरका मानिस रुनकराउन थाले । ऊसँगैका ‘अता’ पनि रोइन् । किन रोएको हो ती बालकले भेउ पाएनन् । तर सबै रोएकोले उसलाई पनि रुन मन लाग्यो । ऊ पनि रोयो । डण्डी समाएर चिच्च्याउँदै रोयो । सबैको रुवाईका बीच त्यो सेतो कपडाले ढाकिएको सामानलाई सबैले बोकेर कतै लगे । ऊ टुलुटुलु हेरिरह्यो । रोइरह्यो । तर कसैले उसलाई यो भनेन कि त्यो बोकिएको सामान उनैको आमाको लास हो भनेर । कसैले त्यतिखेर उसलाई भनेन कि ऊ अब बिना आमाको टुहुरो बने भनेर ।
आमा र बुवा (स्वयम्वरका दिन)
‘आमा बितेको भनेर धेरैपछि मात्र थाहा पाएँ !’ ती बालकले मलाई यो कुरा सुनाउँदै गर्दा मैले उनको अनुहारमा हेरेँ । त्यो अनुहार मेरो बुवाको थियो । हो, उनी मेरै बुवा थिए । अनि उनले भन्दैगए – ‘२००२ माघमा मेरी आमा स्वर्गे हुनुभो । मेरो व्रतबन्ध भैनसकेकोले दागबत्ती दिन लगाएनन् । अब्वा (बुवा) भर्खर २६ वर्षका थिए, तर मैले सौतेलो दुख पाउला भन्ने डरले उनले फेरि बिहे गरेनन् । आजीवन एकनारी ब्रम्हचारीको धर्म निभाए । म अब्वाका एक्लो सन्तान बनेँ ।’
एम ए को दीक्षान्तका बेला
आमाको लाडप्यारमा हुर्किन नपाएका ती ‘एक्लो सन्तान’ टोलछिमेकका महिलाहरुको सहानुभूतिमा हुर्किन थाले । फल्चामा बसेर उनको केश मुसार्दैगर्दा कतै जुम्रालिखी भेटिहाले भनिहाल्थे, ‘कठै ! आमा नभएको बच्चोको कपालमा जुम्रोलिखो पर्ने नै भो नि ।’ अनि ती बालकलाई लाग्थ्यो, हो न हो आमा नभएका बच्चाहरुको कपालमा जुम्राले घर बनाउने रैछ ।
यसो हेर्दा माथिका हरफहरु मानौँ एउटा उपन्यासको पाना – जुन मेरा पिताजी प्रभुभक्त जोशीको वास्तविक कथा । अनि म कथाको पाठक । म पाना पल्टाउँछु !
* * *
मुश्किलले ११ वर्षको कलिलो ठिटोलाई तीन दशक उमेर पार गरेका एक व्यक्तिले पाटनको गावहालको कुनै एक चिसो छिँडीको कोठामा छोडेर आफ्नो घर फर्किन लागेका छन् – भक्तपुरको बोडे गाउँको घर । फर्किनुअघि अब्वाको आज्ञा हुन्छ ‘आ छ थन च्वना ब्वन्यौका ।’ (अब तिमी यहाँ बसेर पढ्ने ।)
‘अब्वा !’ कोठाअगाडिको चुक: (चोक) तिर अघि बढ्दै गरेका व्यक्तिलाई थर्थराउँदो आवाजले ती कलिलो ठिटोले पुकार्छन् । उनका गला भरिएका छन् । आँखा रसाएका छन् । खापाको आग्लो समाएका उनका हात काँपेका छन् । जाँदैगरेका व्यक्ति टक्क उभिन्छन्, एकफेर फर्केर हेर्छन् । आफ्नो छोरोको निन्याउरो अनुहार देखेर शिर निहुराउँछन् र फटाफट अघि बढ्छन् । ठिटोको नजरले टाढिँदै गएको आकृतिलाई परपरसम्म पछ्याउँछ । जब देखिन छाड्छ, ऊ आफूलाई नितान्त एक्लो महसुस गर्छ । तर कमिजको फेरोले भिजेका गाला पुछ्दै ऊ प्रारब्धलाई स्विकार्न तल्लीन हुन्छ ।
बुवाका ‘अब्वा’ अर्थात् मेरा हजुरबुवा प्रभुनारायण जोशी: मेरो पास्नीको दिन
अनि त्यसपछिका दिन गुरु आशाकाजी बज्राचार्यकोमा ज्योतिष विद्या सिक्न शुरु गर्छन् ती कलिलो ठिटोले – आफ्नो बुवाको आज्ञा मानेर । ‘थाहा छ ? मलाई बस्न दिइएको छिँडीको सानो चिसो कोठाबाट बगैंचाको कुनोमा बनाइएको जर्जर शौचालयमा रातिको समय शौच गर्न जानुपर्दा डरले प्राणै जाला जस्तो हुन्थ्यो । तर के गर्ने ? जानैपर्यो । हाहाहा !’ ठिटौलो पाराले हाँस्दै बुवा आफ्नो बचपनका कुरा सुनाउँछन् । अनि तुरुन्त गम्भीर हुँदै भन्छन्, ‘कहिलेकाहीँ गुरुकुलमा बस्दैगर्दा घरतिरका साथीसङ्गीहरुसँग खेलेको सम्झेर आँखाबाट आँसु झर्थ्यो ।’
२०१० वैशाखदेखि माघसम्म बुवा आशाकाजीकहाँ पढ्नबसे । व्यवसायका सिलसिलामा आशाकाजी गुरु नारायणघाट जानुपर्ने भएपछि बुवाको गुरु परिवर्तन भयो । नयाँ गुरु कृष्णराज जोशी । राजज्योतिष मङ्गलराज जोशीका पिताज्यू । संस्कृतिविद् सत्यमोहन जोशीका पनि गुरु ।
बुवा, आमा, म र भाइ , तत्कालीन मुख्यसचिव रंजनराज खनालले खिँचेको तस्बिर २०३६ सालतिर होला
हुन पनि बुवाको लाइफ फास्टफर्वार्ड मोडमै अघि बढ्यो भन्दा’नि हुन्छ । आजकल १२ वर्षका बालकहरु मोबाइलमै मस्त हुन्छन् । तर बुवा त्यो उमेरमा छिँडीको चिस्यानमा आफै एक्लै भात पकाएर खाने भैसकेका थिए । ‘२ पैसामा एक कले (मुट्ठो) दाउरा आउँथ्यो । दुई छाक खाना पकाउन पुग्थ्यो । अँ, साँच्ची, म बसेको छिँडीको कोठाको मुन्तिर गुफा राख्दा मरेको केटी गाडेको छ भनेर गाइँगुइँ सुन्थेँ । डर ? किन नलाग्नु नि ? मनमा चिसो पस्थ्यो । तर के गर्नु, बाध्यता ! सस्तो डेराबास छोड्न पनि त सकिन्नथ्यो ।’
जवान बेलाका बुवा र आमा
यस प्रकार कठोर साधनामा सिकेको विद्या भएर पो हो कि बुवा १३ वर्षको उमेरमा नैं ज्योतिषविद्यामा पारङ्गत बनिसकेका थिए । ‘एकपटक हामी ८,९ जना विद्यार्थीहरु लेलेको सरस्वती कुण्डमा नुहाउन गएका थियौँ । एक ठाउँमा बास माग्दा दिन आनाकानी गरे । मैले घरवालाको चिन्हा हेरेर चित्त बुझाइदिँदा शुरुमा तिमी भन्दै गरेकाले पछि तपाईं भन्दै मान दिए । बास पनि दिए । खाना पनि ख्वाए ।’ मुसुमुसु हाँस्दै बुवाले आफ्नो कारनामा सुनाउँदै गर्दा मलाई लाग्यो, विद्याको तागत पाखुराको भन्दा बेसी हुन्छ यसैले त भन्दा रैछन् ।
हाम्रो परिवार (बुवा, म, भाइ बिकेश, श्रीमती बिन्जु, भाइ बुहारी मेरिना, छोरी निशिता र भाइकी छोरी कृतिका)
उहाँमा नयाँ नयाँ विषय सिक्ने हुटहुटी सानैदेखि थियो । ज्योतिषपछि संस्कृत सिक्न २०१३ सालमा दरवार हाइस्कुलमा रहेको रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना हुनुभो । कुमारबहादुर जोशी, श्रीहरि रुपाखेती सहपाठी थिए । प्रथमा परीक्षामा उहाँहरु दुईजना क्रमश: प्रथम र द्वितीय हुँदा बुवा तृतीय हुनुभएको वृत्तान्त मलाई बारबार सुनाउनुहुन्छ । गर्वको कुरा जो हो ! संस्कृतपछि अङ्ग्रेजी सिक्ने इच्छा हुँदा २०१५ मा पद्मोदय हाइस्कुलमा भर्ना भई दुई वर्षपछि एसएलसी पास गर्नुभो- अपस्नल म्याथ विषय लिएर द्वितीय श्रेणीमा । लगत्तै कोलोम्बो प्लानमा दिल्लीबाट ‘लोकल सेल्फ गवर्नमेन्ट डिप्लोमा’ पास गरेर आई विराटनगरमा प्रधान अफिसरमा नियुक्ति पाउनुभो- २०२० सालमा । यसरी २२ वर्षको कलिलो उमेरमा अत्यन्त जिम्मेवारीपूर्ण ओहोदामा पुग्दा बखतका कुरा सुनाउँदा उहाँ खुब गर्व महसुस गर्नुहुन्छ । र, नोस्टाल्जिक बन्नुहुन्छ ।
बुवा, आमाका साथ म, मेरो पास्नीका बखत
तर इमान्दारीपूर्वक जिम्मेवारी निभाउँदा निभाउँदै पनि सेटिङ्गको माखेजालो उतिखेरै पनि फैलिसकेको हुँदो हो, फलत: बुवा त्यहाँ टिक्न सक्नुभएन । कमसल पिचसडक निर्माण गरेको थाहा हुँदाहुँदै ठेकेदारलाई भुक्तानी दिन बाध्य बनाइएको झोँकमा उहाँले सरुवा माग्नुभो ।
बुवाको भिमरथारोहणका बखत
त्यसपछि प्रवेश हुन्छ उहाँका राजनीतिक गतिविधिका दौर । डा. केआई सिंहको संगतमा लाग्नुभएर प्रधान अफिसरको इज्जतिलो जागिर छोड्नुभयो । तर राजा महेन्द्रद्वारा केआई सिंहलाई राजसभा स्थायी समितिका अध्यक्ष पदमा नियुक्ति गर्दा मन्त्रीपरिषद्का अध्यक्ष रहेका डा. तुलसी गिरीको भन्दा मर्यादाक्रममा तल राखिएकोमा असन्तुष्टि जनाउँदै उनले शपथग्रहण गरेनन् । फलत: पद बर्खास्त भयो । जसको प्रत्यक्ष असरस्वरुप केआई सिंहका साथसाथै बुवाको पनि राजनीतिक क्यारियरले पिकअप लिन पाएन । पछि बलभद्र मिश्रको सभापतित्वमा गठित ‘जनहित संघ’मा सहसचिव पदमा रहँदा राजनीतिक गतिविधि गरेको आशंकामा बुवा जेल पर्नुभएछ । ‘ठ्याक्कै २ महिना २१ दिन जेल बसेँ !’ उहाँ गर्वसाथ भन्नुहुन्छ ।
बुवाको जवानीका बेलाको तस्बिर
२०२३ सालमा मेरी आमा छोरीनानी जोशीसँगको बिहेपश्चात् भने उहाँमा केही स्थिरताका छनक देखिए । त्यसमाथि २०२४ मा मेरो जन्म भएपछि जिम्मेवारीबोध अझ थपियो । त्यसको दस वर्षपछि भाइ बिकेशको जन्म भयो, जिम्मेवारी झन् थपियो ।
पढ्नमा भने उहाँ अत्यन्त डेडिकेटेड ! मलाई याद छ, कैयन् पटक परीक्षाको अघिल्लो दिनमात्र कागजको चिर्कटोमा नाम लेखिपठाई आमालाई भोटाहिटीको रत्न पुस्तक भण्डारबाट पुस्तकहरु किन्न पठाउनुहुन्थ्यो, रातरातभरि बसेर पढ्नुहुन्थ्यो । फलस्वरुप २०३१ मा एमए र बिएल एकैसाल पास गर्न सक्नुभो । म सम्झिन्छु त्यतिखेर कोठाभरि असरल्ल छरिएका किताबका थाकहरु र अनिदा रातले थाकेका उहाँका आँखाहरु । म त्यतिखेर ७ वर्षको थिएँ । त्यतिखेर, जब काठमाडौंमा भारतबाट दारासिँह, रन्धवा, भाइकिङ दि ब्रुट, रेड स्कोर्पियन, ब्ल्याक प्यान्थर आदि पहलवानहरु दशरथ रङशालामा कुश्ती खेल्न आएका थिए । डबल डेकर बसमा जर्मनीदेखि हिप्पीहरु झोछेँमा ‘दम मारो दम’को तालमा गाँजा तान्न आउने गर्थे । हामी झोछेँमा नैं त हो डेरा गरिबस्ने त्यतिबेला । भनिहालुँ, त्यतिबेला बुवा वकिल रामगोपाल श्रेष्ठ (गायिका सुषमा श्रेष्ठकी ठूलोबुबा) सँग वकालत सिक्दैथिए । यही सिकाई र बिएल डिग्रीको परिणाम हुन् उहाँले २०४२ सालमा प्राप्त गर्नुभएका अधिवक्ताको लाइसेन्स र नेपाल क्षेत्रीय बार एसोसिएसनको उपाध्यक्ष पद ।
बुवा गाउँफर्क राष्ट्रिय अभियानमा कार्यरत रहँदाको तस्बिर
उहाँका विविध क्यारियरको के कुरा गर्नु ! २०३३ सालमा उहाँ गाउँफर्क राष्ट्रिय अभियान भक्तपुर जिल्लाका सदस्य-सचिव पनि बन्नुभयो । त्यतिबेला उहाँले ल्याउनुहुने विभिन्न समारोहमा दिइने रङ्गीचङ्गी रिबनका ‘फुर्के तक्मा’हरु म जम्मा गर्थेँ । त्यो बेला खुब रवाफ थियो । इज्जत थियो । तर अहिले सम्झिँदा लाग्छ, ती इज्जत भन्दा ठूलो इज्जत उहाँले ज्योतिषविद्याबाट पाउनुभो । राजा वीरेन्द्रका तत्कालीन एडिसी शान्तकुमार मल्ल, मुख्यसचिव रञ्जनराज खनालसँगको जानपहिचान ज्योतिषका नाताले नैं भएको देख्छु । औपचारिक राजज्योतिष मङ्गलराज जोशी त थिए, तर बुवाले कैयन् दरबारिया वर्षफल लेख्दै गरेको म देख्थेँ । चिन्हा कोर्दै गरेको देख्थेँ । उहाँले कहिल्यै ज्योतिषलाई व्यवसाय बनाउनु भएन, तर उहाँले भनेका कुरा मिल्छ भन्दै घरमा चिन्हा देखाउन आइरहनेहरुको संख्या बाक्लो रहन्थ्यो । सिद्धि उहाँले त्यसैमा प्राप्त गर्नुभो । सम्मान अनि सन्तुष्टि त्यसैबाट पाउनुभो । वास्तविक सफलता त्यसैमा पाउनुभो ।
बुवालाई अति मनपर्ने रातो टाईका साथ
२०८० चैत्र ८ गते (फागुन शुक्ल द्वादशी) का दिन तिथिका हिसाबले उहाँ ८३ वर्ष टेक्नुभो । ‘जिन्दगीको सफर’का बारे बातचित हुँदा भन्ने गर्नुहुन्छ- यो लामो जीवनयात्रामा मैले के प्रगति गरेँ, के गरिनँ कुन्नि ! तर २६ वर्षको जवानीमा विधुर बनेका मेरा अब्वाले मेरालागि अर्को बिहे गरेनन् । सायद हुनसक्छ उनको त्यही त्यागले मेरो जीवन सफल बन्यो ।’
पक्कै पनि ! चार वर्षको दूधेबालक उमेरमा आमा गुमाएका अनि एघार वर्षको बालापनमा घर छाडेका उनका अनगिन्ती त्यागतपस्याका मेहनतानाले सिर्जेको सफलतम् जीवन उनका आफ्ना ‘अब्वा’का त्यागको परिणति पनि हुँदो हो !
(२०८१ चैत्र ९ गते शुक्रबारको नामी साप्ताहिकमा प्रकाशित)