म बोसनडाँडाको थाप्लोबाट झर्दै थिएँ कि दुईटा चरा दुईटा छुट्टाछुट्टै रुखमा बसेर जोडकातोड कराउँदै थिए – एकोहोरो – दुबैका दुई छुट्टाछुट्टै क्रन्दन । एउटा एकोहोरो ‘न्याउँ न्याउँ न्याउँ न्याउँ’ गर्दैथिए भने अर्को एकोहोरो ‘पक पक पक पक’ गर्दैथिए । विरक्तिलो त्यो रटान जङ्गलतिर हिँड्दा कैयौंपटक सुनेकै हो । तर आजसम्म पनि कुन चरोले त्यो आवाज निकाल्छ, म बेखबर थिएँ ।
कौतुहलवश सुस्तसुस्त हिँड्दै रुखको फेदीमा पुग्दा ‘पक पक पक पक’ गर्ने चरीले म नजिकै पुगेको सुइँको पाएछ क्यारे, चुप लागिहाल्यो । अर्को रुखकाले भने ‘न्याउँ न्याउँ’ गर्न छाडेन । आँखा तन्काइ-तन्काई हेर्दा एउटो चरो रुखको उपल्लो डालीमा बसेर कराउँदै गरेको देखिहालेँ । कोइली होस् या अरु कुनै चरा, रुखको घनाक्षेत्रभित्रबाट कुर्लने हुँदा कहिल्यै देख्न पाएको थिइनँ । भाग्यले जुरेको यो अवसर मेरालागि रोमाञ्चक हुने नैं भो । तेर्स्याएँ मोबाइल र जुम गरिगरि ताकेँ चरीलाई । भिडियो रिकर्ड गरेँ । गर्दागर्दै दुईचार स्टिल फोटोग्राफ पनि लिएँ । लिएको तस्बिरलाई सामसुङ मोबाइलको नयाँ फिचर ‘सर्कल-टु-सर्च’ प्रयोग गरेर पत्ता लगाएँ कि चरोको नाम ‘ग्रेट बार्बेट’ पो रैछ । त्यसलाई नेपालीमा के भनिन्छ भनेर गुगल गरि हेर्दा छ्क्क परेँ कि कैयौंपटक सुन्दै आएको नाम पो रैछ त चरीको ! न्याउली चरी !! ओहो, यो पो रैछ न्याउली चरी ?!
ओहो, यो पो रैछ न्याउली चरी ?!
किन हो कुन्नि, यो चराबारे अरु थप जान्ने हुटहुटी जाग्यो र फेरि गुगललाई सोधेँ । गुगलले फररर एउटा कथा पो सुनायो !
* * *
एकादेशमा एक जोडी पतिपत्नी थिए । त्यो देश नेपालको सुदूरपश्चिमको कुनै कुनोमा हुँदो हो । पतिकी आमा यानि पत्नीकी सासु आफू कडा बुहार्तनबाट गुज्रेकी, बुहारीबाट पनि उस्तै खोज्ने नैं भइन् । पोइ हुतिहारा परेर हो वा आमाका अन्धभक्त भएर हो बुहारीले भने अचाक्ली बुहार्तन सहनुपर्यो । रातदिनको पेलानका बीच बुहारीले भुकुल्ले नाति जन्माइन् तर बुहार्तनमा रत्तिभर कमी आएन । झन् बढ्यो ।
एकदिन, फागुन चैततिरको उराठिलो दोपहर, सासुले बुहारीलाई बारीको काममा खटाइन् । छोरोलाई झोलुङ्गेमा सुताएर आमा बारीमा झरिन् । पसिना बगाउँदै काममा लागिन् । उता बचेरो भोकले इन्तुनचिन्तु पर्न थाले । आमाको दूध खोज्दै रुन थाले । उनको चिच्याहट बारीको कान्लासम्म गुञ्जायमान भयो । आमा चैंले नसुन्ने कुरै भएन । उनको मन हुँडलियो । आफ्नो बच्चो रोएको आवाजले कुन आमाको मन भक्कानिन्न ? तर सासुको कडा निर्देशन थियो, काम नसकाइकन कुनै हालतमा नफर्किनू । विवश ती आमा आँखाबाट बलिन्द्र आँसु झार्दै टाढैबाट कराए, ‘पख पख पख पख !’ आउँदैछु, पख छोरा, पख !
भोकले मरणासन्न भएपछि छोरोमा एउटा चमत्कार हुनथाल्यो । उनका कलिला आङमा प्वाँख पलाउन थाले । प्वाँखका झुप्पो जिउभरि छरपस्ट देखिए । दुबै हात बिस्तारै पखेटाझैं देखिन थाले । खुट्टो खिरिलो बन्दै गयो । अनि त, बच्चो चरो बनेर फड्फदाउँदै उड्दै डालीडालीमा बस्दै कराउन थाले – ‘न्याउँ न्याउँ’ – बच्चो रुँदाको भाकामा !
यता आमाचैंले छोरो चरोको रुप धरेर उडेको टाढाबाट देखिहाले । अत्तालिएर ऊ आफै पनि चरीको भेषमा बदलिएर छोरोको पछिपछि उड्न थालिन्- ‘पख पख पख पख’ कराउँदै । तर भोकाउँदा दूध पिउन नपाएर झोँकिएका छोरोले आमाको कुरा एक सुनेन । आमाले जन्मेदेखि पिलाएका दसधारा दूध फिर्ता गर्ने कठोर निर्णयमा पुगे उनी । दुधिलोको रुखको हाँगामा उसले पहिलो धारा दूध खन्याए । फुरुक्क उडेर खिरिलोको रुखमा पुगे र त्यहाँ अर्को धारा दूध खन्याए । एवम् रितले हेलैसित तिमला, बिरौला आदिका रुखका हाँगामा दूधका धारा खन्याए । यतिले नपुगेर आफ्नो शरीरमा दौडिरहेको आमाको रगत खन्नेको रुखको हाँगामा खन्याउँदै आमालाई सरापे, ‘आमा, आइन्दा तपाईं र मेरो देखादेख होस्, भेट कहिल्यै नहोस् ।’
यसरी, तब उप्रान्त न्याउँ न्याउँ गर्ने न्याउली चरीको आमा छोरा बीच भेटघाट भएन । फागुन चैततिरको विरक्तिलो दिनमा कुनै एउटो रुखको हाँगोमा बसेर आमाको दूध खान नपाएका छोरो न्याउली चरो ‘न्याउँ न्याउँ’ गर्दै विरहगीत गाउँछन् भने अर्को भिन्नै रुखको हाँगामा छोरोको कठोर सरापले रन्ठनिएकी आमा न्याउली चरी ‘पख पख पख पख’ भन्दै छोरोको सँगसँगै भिन्नै विरहगीत गाउँछिन् । तर तिनीहरुको भेट भने कहिल्यै हुन्न ।
भनिन्छ, छोरो न्याउली चरीले दूध पोखेका दुधिलो, खिरिलो, तिमला, बिरौला आदि रुखका चोप दूधजस्तै सेता हुन्छन् भने खन्नेको रुखको चोप रातो हुन्छ ।
गुगलले यति कथा भनिसक्दा पनि न्याउली चरी उस्तै पाराले कराउँदै थिए । यसपटक मभन्दा तीन रुख पर आमा न्याउली एकतमासले ‘पख पख पख पख’ भन्दै चिच्च्याइरहेको थियो । म भने आमा न्याउलीको त्यो क्रन्दनमा मेरी आफ्नी बज्यैको क्रन्दन सुन्न थालेको थिएँ । मेरी बज्यै, जसको एक्लो छोरो, दूधेबालक छँदा कोक्रोभित्र बितेका थिए !
* * *
मेरी बज्यै, जसको बिहे आफ्नो बुवाको उमेरका व्यक्तिसँग भयो । जेठी श्रीमती बितेपछि कान्छी श्रीमतीका रुपमा मेरी बज्यै भित्रिइन् । सौतापट्टीका छोरो नैं आफूभन्दा जेठो । पाको उमेरका नैं किन नहोस्, गाउँका बुर्जुवासँग बिहे हुनु सर्वहारा आफ्नो अहोभाग्य ठान्छन् । भविष्य सुनिश्चित हुने जो ठान्छन्, भलै त्यो अनमेल विवाह किन नहोस् । सुन्छु, त्यतिबेला अनौठो बुहार्तन शुरु भएको थियो । सासुबाट नभै बुहारीबाट । आफूभन्दा जेठी बुहारीबाट ।
दिन बित्दै जाँदा मेरी आमाको जन्म भयो । र, दोश्रो सन्तानका रुपमा मेरो मामाको । एकदिन बज्यै आफ्नो दूधेबालक छोरोलाई घरअगाडिको फल्चामा ‘मचाकथि’ भित्र सुताएर खेतवारीतिर लाग्छिन् । (मचाकथि भनेको तीन नर्कटका मसिना बाँसलाई एकतिर बाँधीवरि ठड्याएर त्यसलाई कपडाले बेरी त्रिपाल जस्तै बनाइन्छ र त्यसभित्र बच्चालाई सुताइन्छ ।)
त्यस ‘मनहुस’ दिन, मचाकथिभित्र सुतेका बालक छोरो कतिखेर दूध खान उठे, बज्यैलाई अत्तोपत्तो भएन । खेतवारीमा व्यस्त उनी सायद कसैबाट निर्देशित पो थिए कि ? कि कामधन्धा नसकाइ फर्किने हैन भनेर निर्देशित पो थिए कि ? त्यतिखेर त्यो सानो बच्चो खुब चिच्च्याएर रोएको हुँदो हो, छट्पटिएका हुँदो हो, हुनसक्छ खुट्टा झट्कार्दै रुँदा लात्तीले मचाकथिमाथि बेरिएको ‘इचाकाप:’ (कपडा) खसेर मुख थुनिएको हुँदो हो । किनभने, जब काम सकाएर आए, मचाकथिभित्र बज्यैले आफ्नो छोरो मृत भेटे ।
अहिले सोच्दा यस्तो लाग्छ कि सायद त्यतिखेर बज्यै न्याउली चरीले झैं प्राणपखेरु उडेका छोरोलाई ‘पख पख पख पख’ भन्दै धुरुधुरु रोएकी हुँदी हो । हुनसक्छ, मर्नुअघि ती सानो बच्चो (जो मेरा मामा थिए) पनि डाँको छोड्दै ‘न्याउँ न्याउँ न्याउँ न्याउँ’ गर्दै रोएका हुँदो हो । सायद ती बच्चोले मर्नुअघि बज्यैलाई सरापेका पो थिए कि ? हाम्रो भेट कहिल्यै नहोस् भनेर । तब न त्यसदिनपछि उनको र बज्यैको भेट कहिल्यै भएन ।