कुरा फेरि उही दिनको- जब म त्यो रुखको फेदमा पुगेथेँ, त्यही रुख जसको अमूर्त रुप मेरो पुस्तक ‘चोभार ब्लुज’को कभरमा कोरिएको छ । अनि म सुस्ताउँदै थिएँ, त्यही रुखको फेदमा ।
‘चोभार ब्लुज’ को कभरमा प्रयोग भएको रुख वास्तवमा छ !
एक्लोपनमा वैचारिक तरङ अलि बढी नैं तरङ्गित हुन्छ । अलि बढी नैं भावुकताले जरो गाड्छ । तर जिन्दगीको अर्को पाटो पनि छ । जिन्दगीमा आउने भावुकताका तरेलीहरुलाई ‘ह्या… बालै भएन’ भनेर पन्छाउने एटिच्युड ! हो, त्यही एटिच्युड मेरो सामुन्ने आइपुग्यो, २५ किलोको चामलको भारी बोकेर । हँसिलो अनुहार लिएर ।
२५ किलोको चामल र गुमानहाङ्ग राई !
‘अङ्कल, मेरो एउटा फोटो खिँच्दिनु न !’ उसले भारी बिसाउँदै भन्यो र गोजीबाट खोतलखातल गरेर अनुहार छ्याकटे परेको मोबाइल निकाल्यो । मोबाइल गाउँदै थियो,
‘सालको पातको टपरी हुनी,
हे बरै नहुनी सल्लैको’
उसले मोबाइलभित्रको गायकको थुतुनो बन्द गर्यो र क्यामेरा अन गर्यो । अन हुन ठ्याम्मै एक मिनेट लाग्यो ।
‘पुरानो फोन, बाबाले दिनुभाको ! ह्याङ हुन्छ टाइम टाइममा !’ उसले ङिच्च दाँत देखायो ।
मैले उसलाई स्टाइल स्टाइल मार्न लगाएर फोटो खिँच्दिएँ । मेरो गगल्स पनि लाउन दिएँ ।
‘आमामा, लाउनु र ? सुहाउन्न कि ?’
अप्ठेरो मान्दै गगल्स लगाए । अप्ठेरो मान्दै पोज दिए । अप्ठेरो मान्दै खिँचिएका आफ्ना फोटो हेर्न थाले ।
‘बब्बाल !’ उसको रियाक्सन ! ‘कस्तो राम्रो फोटो खिँच्नुभएछ । क्या दामी देखिएछु त । थ्याङ्क यु, अङ्कल !”
उसका निर्दोष आँखामा खुशी छर्लङ देखिन्थ्यो । मेरा अघिका भावुकता कता हराए कता !
‘के नाम नि ?’ मैले सोधेँ ।
‘गुमानहाङ राई !’
‘दयाहाङ राई कोही पर्छ ?’
‘मामा पर्छ ।’ उसको सहज उत्तर ।
‘साक्खै मामा ?’
‘काँ हुनु ? गाउँले ।’
‘तिमी पनि हिरो बन्ने ?’
‘ह्या… नबन्ने । अहिले पढ्ने हो । टेनमा भर्ना हुन आको गाउँबाट ।’
‘कति वर्ष भो ?’
‘१९ !’
‘ढिलो भएन त पढाई ?’
‘पढाईमा ढिलो भन्ने हुन्न नि, अङ्कल !’
म उसको सरल उत्तरमा लुकेको बौद्धिकताबाट झस्केँ ।
‘१६०० को चामल ल्याको । बाबाले १५०० दिनुभाथ्यो । १०० उधारोमा ल्याएँ ।’
ऊ आफ्नै तालले बोल्न थाल्यो । न मैले सोधेको हुँ । तर ऊ आफ्नै तालले बोल्न थाल्यो । वर्षौंदेखि चिनजान भएकासँग झैं ।
‘ल्होछार मनाउन सरजाम गरेको ?’
‘हामी मनाउँदैन । हाम्रो त किराँत द्यौता हुन्छ । अब मान्दैन । परिवार सप्पै कृस्चेन भैसके ।’
”तिमी नि ?’
‘म बन्या छैन । चोपल्न आइज भन्छ पास्टर अङ्कल । मलाई मन त छैन । तर के गर्ने । सप्पै परिवार बनिसके, म एक्लै नबनेर भो त ?’ उनको चोपल्नुको मतलब ‘ब्याप्टाइज्’ गर्नु होला । पादरीले औपचारिक रुपमा क्रिस्चियन बनिस् भनेर पानीमा चोपल्छन् । ‘ब्याप्टाइज्ड’ गर्छन् ।
अँ, उसले मलाई गरेको प्रतिप्रश्नको भने मसँग उत्तर छैन । धर्मान्तरणको यो दौर, यसबारे म के भनुँ !
साँझको चिसो स्याँठले उसलाई स्यू स्यू गरायो । पातलो स्वेटर एकसरो जुन लगाएका थिए ।
म उठ्दै गर्दा उसले सोध्यो, ‘अब अङ्कल कता लाग्ने ?
‘म त लन्ठु । जता गए नि भो । तिमी जता जान्छौ उतै जाँदा’नि भो ।’
‘अङ्कल पनि जोक्स गर्नुहुन्छ ।’ ऊ हाँस्यो । ‘के काम गर्नुहुन्छ नि ?’
‘छैन । म रिटायर्ड । अफिस छैन । भनेँ त, म लन्ठु !’ मैले पनि हाँस्दै भनेँ ।
‘हैट ! आफूले आफूलाई त्यस्तो भन्नुहुन्न । बेलामा खुप काम गर्नुभो होलान्त । अहिले पाकेर झरेको फल भो । मीठो पो हुन्छ नि !’ उसले चामलको बोरा उचालेर काँधमा हाल्दै भन्यो ।
म भन्दा झण्डै तेब्बर कम उमेरको ठिटोको सरल भनाईमा लुकेको बौद्धिकताबाट दोश्रोपल्ट झस्केँ ।
(२०८१ चैत्र २३ गते शुक्रबारको नामी साप्ताहिकमा प्रकाशित)