२०८१ जेठ १९ गते एउटा यस्तो अवार्ड फङ्सन अटेन्ड गरियो कि यो विभिन्न माइनेमा खास रह्यो । पहिलो त यस पुरस्कार समारोहमा मेरा प्रिय हितैषी मित्र एवं वरिष्ठ पत्रकार श्याम स्मृतज्यूले ‘पुष्कर सर्वोत्कृष्ट पत्रकार पुरस्कार’ प्राप्त गर्न सफल हुनुभयो । नामी साप्ताहिकका सम्पादक एवं संकल्प नेपाल टिभीका सञ्चालक उहाँलाई गरिएको सम्मान एवं पुरस्कार एकदम सही छनौट हो जस्तो लाग्छ । समारोहस्थलमा रहेका अरुले पनि यस छनौटको सराहना गर्दैगरेको सुन्दा म गलत थिइनँ भन्नेमा ढुक्क भएँ । उहाँलाई धेरैधेरै बधाई एवं शुभकामना !
दोश्रो कुरा, आज धेरैपछि एक वर्षअघि लुम्बिनीमा एक कार्यक्रममा भाग लिन जाने क्रममा सहयात्रा गरेकाहरुमध्येका मेरा प्रिय कलाकार राते काइँला अर्थात् सुनील थापाज्यू, सिन्दूरका नायक वरिष्ठ अभिनेता विश्व बस्नेतज्यू तथा मैले अत्यन्त सम्मान वसुन्धरा भुषाल दिदीसँग एकैठाउँ एकैसमय भेट भयो । यस अर्थमा पनि खास रह्यो ।
छोरी निशुसित कुनैबखत भालेश्वर महादेव मन्दिरमा
अझ फेरि, अर्को खास कुरा के हो भन्दाखेरि, एक खास व्यक्तित्व जसको नामभित्र मेरो नाम समाहित छ, आदरणीय वरिष्ठ कलाकार नीरविक्रम शाहज्यू, उहाँलाई लाइफ-टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
अर्को खास कुरो, सुन्दा फन्नी लाग्ला तर आजको अवार्ड फङ्सनमा सर्वोत्कृष्ट नायिकाको अवार्ड प्राप्त गर्न सफल साह्रै सुन्दर अभिनय गर्नुहुने टेलेन्टेड नायिका स्वस्तिमा खड्कालाई देख्दा मलाई उहाँमा मेरी छोरी निशुको झल्को देखेँ । ठ्याक्कै त हैन, कताकति । हुनसक्छ, अध्ययनका क्रममा टाढिएकी छोरीलाई मिस गर्ने सिलसिलामा त्यस्तो लागेको पनि हुँदो हो । खैर, श्यामज्यूका मार्फत् सर्वोत्कृष्ट नायिकासँग परिचय भो, यो कुरा भनेँ पनि । उहाँको बडप्पन कि मेरी छोरीलाई सोधेको छु भनेर सुनाइदिनुस् है भनिन् । हाउ स्वीट अफ हर !
अवार्ड समारोहमा स्वस्तिमा र अवार्ड विजेता श्याम स्मृत
अँ, अनि मलाई आज यस भव्य कार्यक्रममा सहभागी हुने मौका प्रदान गर्नुहुने आदरणीय प्रकाश सायमी दाजु, जो उक्त अवार्डका जुरी मेम्बर पनि हुनुहुन्थ्यो, उहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।