कल्पना गर्नुस् त… बाँधिएर उतानो लडाइएका बन्दीको नाङ्गो शरीरमा पानीका बुँद टप्किरहेछ… टप् टप् टप्… निरन्तर, अनवरत, अविराम । समयको अन्तरालमा ती बन्दी यस्तो क्षणमा पुग्छन् कि तिनी टप्किन लागेको सानो थोपो पानी देखेर पनि तर्सिन पुग्छन् । तिनलाई पागल बनाउँछ पानीको सानो थोपोले समेत । हेर्दा अनि सुन्दा साधारण लाग्ने यस यातनाको कठोरता भोग्दा मात्र थाहा लाग्छ । इस्वीको १६औँ शताब्दीमा प्रचलित यो यातना ‘चिनियाँ पानी यातना’ का नामले कुख्यात छ । यो यातना जसमा धेरै लामो समयसम्म निधारको एक भागमा पानी टप्काइन्छ, र तिनै टप्काइको तनावले पीडितलाई पागल बनाउँछ । यस प्रकारको यातनामा भौतिक भन्दापनि मानसिक रुपमा यातना दिइन्छ ।
अब प्रसङ्ग उस्तै खाले मानसिक यातना – तर फरक तरीकाको – यसबारे चर्चा गरौँ ।
हामी हाम्रा दृष्टि, घ्राण, श्रवणादि इन्द्रिय शक्तिका मद्दतले दृश्य, गन्ध, ध्वनि अनुभव गर्छौँ, महसुस गर्छौँ । कहिले कुन, कहिले कुन, र त रमाउँछौँ। तर सोच्नुस् त, यदि हामीमा गतिशीलता रहेन भने हाम्रा महसुसका दायरा कति संकुचित हुनपुग्छ ? एउटै दृश्य, उस्तै बास्ना, एकैथरि आवाज… आज, भोलि, पर्सि… लगातार । शायद मृत्युपर्यन्त । जडवत मुढोसरि हामी यस्तरी लडिबस्छौँ कि हाम्रो संसार हाम्रा आँखाले देख्ने दूरीसम्मको अर्धव्यासले चर्चेको तीन सय साठी डिग्रीको वृत्ताकार परिधिभित्र बन्द ।
कहालिलाग्दो यो परिस्थिति भोगिरहेका छन् कैयनले। हाम्रै वरिपरि छन् भोग्नेहरु । कुनैबखत मैले पनि भेटेँ, एक त्यस्तो व्यक्ति जो बन्दी थिए खुल्ला आकाशमुनि । उनको अवस्था हृदयविदारक थियो । बुझ्दै जाँदा थाहा पाएँ कि ती जित्नेको घोडाबाट खसेका योद्धा पो रहेछन् । मन कुँडियो, अनि मैले रचेँ एउटा कविता- ‘जित्नेको घोडा’ !
जित्नेको घोडा
जा त जा,
हेरेर आइज त,
कुथुर्केको माउले बचेरो कोरलिसकिन् कि ?
जा त जा,
सुनेर आइज त,
फुङफुङे झरना उस्तैगरि सुसाउँदैछ कि ?
जा न जा,
हेरेर आइज न,
सिमारा फाँटमा धानका बाला लहलहाउन थाले कि ?
जा न ।
मेरो भाइ, गएर सुनाइदे न ।
पल्लो गाउँको नन्दुलाई सुनाइदे न, धेरै भो नभेटेको, धेरै याद गर्दैछ यो साथीले भनेर ।
थानसिङका माइलाबालाई सुनाइदे न, अबदेखि खेतालो लाग्न यो बाउसे आउँदैन भनेर ।
पँधेरोमा मजेत्रो धुँदै गरेकी धनमायालाई भन्दे न,
अबदेखि तेल्लाई जिस्काउन यो बाउँठे आउँदैन भनेर ।
बरु पँधेरो छेउको झ्याङ्गबाट एक मुठो बनफाँडा चुँडालेर ल्याइदे न,
तिनको पात मल्दै तीखो गन्ध हावामा छरुँ आज ।
जा न, एक सास त्रिशुलीको चिसो हावा ल्याइदे न,
त्यसको सिरसिरे चिस्यानले यो तातिएको मनलाई चिस्याउँ आज ।
किनकि, अब त… अब त
पिँढीको बास भइगयो ।
जिउँदो लाससरि बनिगयो ।
जिउने दिन बाँकी कति छन् कति ।
हाडमासुको रास बनिगयो ।
अब त घरकाले पनि बोझ भारी ठान्ने भए ।
तैंले जस्तै अरुले पनि टेर्न गाह्रो मान्ने भए ।
अँ साँच्ची, मेरा पनि त कति रमाइला दिन थिए नि बाबै !
उफ्रीउफ्री फरालेका कान्ला ऊ तिनै त हुन् ।
इस्कुल दौडमा फस्ट प्राइज पाउने मै त हुँ ।
सुन्तलीको कपाल भुत्ल्याउने बिस्नेलाई लात हानेर भुक्लुक्कै ढाल्ने मैं त हुँ ।
सालको रुखको हाँगामा अड्केको चङ्गा खुरुरुरु चढेर झार्ने मैं त हुँ ।
भुसुनेलाई उक्साइ उक्साई क्लास छाड्न लगाएर ऐंसेलु टिप्न लैजाने मैं त हुँ ।
अहो, कति रमाइला थिए ती दिन !
अनि… आज एकान्तमा एक्लै बस्दा जब सोच्छु
शङ्का लाग्छ, के ती सबै साँचा थिए ?
कतै ती सपना त थिएनन् ?
हैन, हैन…
ती सपना थिएनन्
ती सब विपना थिए ।
म कसरी बिर्सुँ त्यो दिन,
म्याथको क्लासमा श्याम सर
ए प्लस बी को होल स्क्वायर सिकाउँदै थिए ।
म कागजको प्लेन बनाएर झ्यालबाहिरतिर उडाउँदै थिएँ ।
झ्यालबाहिर देखेँ, एक हुल बन्दुक बोकी आउँदै थिए ।
एकछिनपछि देखेँ झ्यालभित्रबाट साथीहरु हामीलाई पो हेर्दै थिए ।
एकलहरमा हिँडेर जाँदै गरेका हामी दशजनालाई ।
हामी दश, हामी भाग्यमानी भयौँ रे
देशको मुहार फेर्न हामी छानियौँ रे
कसरी फेर्ने मलाई थाहा थिएन ।
फ्युज गाको चिम फेरेजस्तो फेर्ने पो हो कि ?
मैलो लुगा फेरेजस्तो फेर्ने पो हो कि ?
अहँ, मैले पटक्कै भेउ पाइनँ ।
पर पुग्दासम्म फर्कीफर्की हेरेँ ।
इस्कुल टाढिँदै बिलाएको देखेँ ।
आँखाको कुनोबाट तर्केको एक थोपो आँसु पुछेँ ।
तर मलाई रुन मनाही गरियो,
किनकि म जाँदै थिएँ मेरो देशको मुहार फेर्न ।
म बहादुर, म योद्धा, म सपूत !
मलाई रुन बन्देज लगाइयो ।
मलाई कवाज खेलाइयो ।
मलाई रातोसँग खेल्न लगाइयो
रातोसँग मितेरी लगाइयो
रातका अँधेरीमा राता सपना देख्न लगाइयो ।
अनि, एउटा कहालिलाग्दो रात ।
युद्धको भयानक त्यो रात ।
म त्यही रातो रङ्गमा रङ्गिएँ ।
ठूलो आवाजसहित रातो रगतको आहालमा म पछारिएँ ।
घुँडामुनिको भाग चरक्क चर्किए ।
देशको मुहार फेर्न गएको म,
म आफूले भने हार खाएँ ।
तर, म आफू हारेर हामीलाई भने जिताएँ ।
खुशी थिएँ ।
के भो त ?
मेरा दुबै गोडा बली चढिए पनि ।
देशको मुहार त फेरिनेभो ।
हो, फेरिएछ मुहार ।
देशको त हैन ।
हाम्राको मुहार भने फेरिएछ ।
चप्पल दामी जुत्तामा फेरिएछ ।
च्यातिएका लुगा महङ्गा सुटमा फेरिएछ ।
पैदलयात्रा सौखिन गाडीका यात्रामा फेरिएछ ।
पातलो दाल पाँचतारे बाक्लो दालमा फेरिएछ ।
अनि म ?
मेरो त पिँढीको बास पो बनिगयो ।
जिउँदो लास बनिगयो ।
जिउने दिन बाँकी कति छन् कति ।
हाडमासुको रास बनिगयो ।
अब त घरकाले पनि बोझ भारी ठान्ने भए ।
कसैले टेरपुच्छर लाउन गाह्रो साह्रो मान्ने भए ।
होस्,
दिक्क नमान्,
म छु नि, काले !
अब तँ र म त हो एकार्काका साथी ।
गोडा छिनिएर बेकार दरिएको म ।
लुतो लागेर घरबाट लखेटिएको तँ ।
नभुक् न,
सुत् अब,
हाम्रो आवाज कसले पो सुन्छ यहाँ ?
हिनहिनाउँछ जित्नेको घोडा जहाँ !
कुर्लिन्छ जित्नेको घोडा जहाँ !!
*समाप्त*
(मिति: २०८१ श्रावण ४ गते नामी साप्ताहिकमा प्रकाशित)