आज विहानैदेखि पानी परेको पर्र्यै छ । जगल्टे डनको झुपडीमा छड्के परेको पानी छिरेर बिजोग छ । सामान पूरा असरल्ल छन् । सामान जोगाउन हम्मे हम्मे पर्दैछ जगल्टेलाई ।
अरू त उस्तै हो, पोहोर साल मात्र किनेको ४७ इन्चीको सोनी टिभी जोगाउन जगल्टेलाई महाप्रलय भएको छ । पत्रिकाहरू खप्टाइ–खप्टाई टिभीलाई मोडमाड गर्दा पनि खिया परेको जस्ताको छानोबाट तुरुरुरु झरेको पानीले टिभीलाई स्नान गराइछाड्यो । कताकताबाट खोजखाज गरेर प्लास्टिकका टुक्राटाक्रीले छोपछाप गरेपछि बल्ल जगल्टेले थोरै सन्तोषको सास फेर्र्यो ।
छरछिमेकका बाकस जस्ता २१ इन्चका टिभीहरूका माझ उसको पातलो तर अजङ्ङको टिभी आरिसकै विषय थियो । त्यसमा देखिने ठूल्ठूला छापा झैं लाग्ने सिनेमा हेरेर अरूले जिब्रो टोक्थे । जगल्टे भने मख्ख पथ्र्यो ।
जगल्टेको अत्यन्त प्रिय यो ‘बल्ड्याङ्ग्रे’ जिनिस भताभुङ्ग परेको सानो कोठोलाई पटक्कै सुहाउँदो थिएन । चिया–टेबलमाथि टुसुक्क राखिएको टिभीले जगल्टेको कच्याककुचुक परेको झुपडीको सानो कोठा अगाडिको आधा भाग नै ओगटेको थियो । तर जेसुकै होस्, यो टिभीले छरछिमेक माझ जगल्टेको इज्जत चैँ बढाएको छ ।
जगल्टे छाता लिएर झुपडीबाट निस्क्यो । झमझम पानी पर्दै थियो । बाहिर आँगनको डिल डिलसम्म वाग्मतीको पानी उर्लिँदै थियो । एक मन चिसो भो, जगल्टेको । पानी नरोकिने हो भने भेल त कोठैभित्र छिर्न बेर छैन । मोटरसाइकल त अघि नै माथि सानुमानको घरको आँगनमा राखियो । तनाव त यो बजिया टिभीको पो रह्यो । हे भगवान् !
हुन त जगल्टे सुकुमबासी हो, तर लवाइखवाइ र रवाफ कुनै बाबुसाहेबको भन्दा कम छैन । दश वर्षअगाडि काठमाडौँ छिर्दा ऊ त्यस्तै पच्चीस वर्षको हुँदो हो । उसको खास नाम केशवप्रसाद हो । तर हिन्दी फिलिमका हिरोहरूको नक्कल गरेर पालेको झ्याप्ले कपाल महिनौँसम्म ननुहाई जगल्टा पारी हिँड्ने भएकाले नामै जगल्टे हुन पुग्यो ।
सिन्धुपाल्चोक घर । सिपाघाटबाट एक घण्टा पश्चिम हिँडेपछि उसको घर आइपुग्छ । हुनेखानेकै छोरो हो । त्यसमाथि एक्लो सन्तान । खेतबारी प्रशस्त । तर गाउँघर बस्नेहरूलाई शहरको मोहले गाँजेपछि बसिटिक्नु नहुने रैछ । उसलाई पनि त्यस्तै भो ।
बालापनका साथी रामे काठमाडौँ छिरेर उतै बस्न थालेदेखि उसलाई औडाहा हुन थालिसकेको थियो । आखिर ऊ पनि बाउसँग क्रान्ति नै गरेर घर छोडेर काठमाडौँ पसिछाड्यो । सिधै पुग्यो आफ्नो साथीकहाँ ।
रामेले पनि जगल्टेलाई हुनसम्म मद्दत गर्र्यो । टेकुनिर वाग्मती किनारमा आफू बस्दै आएको झुपडीको छेवैको खाली जग्गामा जगल्टेका लागि बासको व्यवस्था गरिदियो । काठका फल्याकहरूले छेकबार लगाएर त्यसमाथि बोरा तानतुन पारेर बस्न लायक ठाउँ बनाइदियो । शुरुमा त जगल्टेले मुख लेप्य्रायो गाउँको पक्की घर सम्झेर । भिखारी बस्ने खालको बास देख्दा मन खिन्न पार्र्यो । तर रामेले आफ्नो साथीलाई खुब पाठ पढायो । आखिर जे भए पनि काठमाडौँ भन्या काठमाडौँ । अहिले यस्तैमा बसे पनि पछि बिस्तारै पकड बनाउँदै लानुपर्छ भनेर सम्झायो । मुख अमिल्याउँदै जगल्टेले चित्त बुझायो ।
रामे आफैले भने हल्काफुल्का ‘पकड’ जमाइसकेको थियो । आफ्नो झुपडी इँटा र जस्ताले बारेर बनाइसकेको थियो । सानोतिनो घरै बनायो भनुँ न ।
केही महिनामा जगल्टेले पनि राम्रै घरको जोहो गर्र्यो । दुरुस्तै रामेकै जस्तो । उसकै घरसँग जोडिएको । अरू सबै त ठिकै थियो, गर्मीमा भने घिस्रँदै बग्ने ढलसमान वाग्मतीको तिक्खर दुर्गन्धले वाकवाकी लगाउँथ्यो । तर त्यो पनि बानी पर्दै जाँदा वास्ता हुन छाड्यो ।
जगल्टे हट्टाकट्टा अनि खाइलाग्दो त थियो नै, चल्तापुर्जा पनि उत्तिकै थियो । बिस्तारै ऊ सुकुम्वासी टोलको जान्नेसुन्ने भएर निक्ल्यो । बोलेर हुन्छ कि हात हालेर हुन्छ आफ्नो काम निब्टाउनु उसको खुबी थियो । रामेले गर्ने घरजग्गा दलालीमा पनि हात हालेपछि त ऊ जगल्टे डन बन्यो । सेकेण्ड–ह्याण्ड पल्सर बाइक पनि किनिहाल्यो ।
डनका महिला मित्र नहुने कुरै भएन । त्यसमाथि खाईपिई ज्यान बनाएर ऊ ‘ह्यान्डसम हङ्क’ बनेको थियो । वरपरका ठिटीहरू जगल्टे भनेपछि हुरुक्कै । बस्, हिरोगिरी शुरु भैगयो ।
बग्रेल्ती ठिटीहरूमध्ये सुकुम्बासी टोलकै रानुसँग उसको ‘टु–साइड’ लभ परिछाड्यो । अनि लभस्टोरी भव्यताका साथ सफल पार्दै रानुलाई उसले दिनदहाडै भगायो । नभगाए पनि हुन्थ्यो । कसले रोक्थ्यो र, डनजस्तो मान्छेलाई ! तैतै रोमाञ्चकताको लालसा भनौँ न, जगल्टेले रानुलाई एक रात नगरकोट राखेर भोलिपल्ट आफ्नो ‘रङ्गमहल’मा भित्र्यायो ।
हेर्दाहेर्दै त्यो दिन बितेको पनि ६ वर्ष भैसकेछ । घोर्ले छोरो नै ४ वर्ष भैसकेको छ ।
‘ओई । के ट्वाँ पर्छस् ! सामान निकाल्, तेरा बाजे । बगाउन लागिसक्यो, देख्दैनस् ?’ पल्लो घरबाट रामेले अत्तालिँदै कराउँदा जगल्टे झसङ्ग भयो ।
पानी झनै दर्किँदो थियो । वाग्मती उर्लिंदै झन् माथि चढेर आफ्नो बाटो छेक्ने जतिलाई सोहोरेरै लगुँला झैँ गरी अटेसमटेस भएर बग्दै थियो । नदीको किनारैमा छेकबार लगाएर बनेको सुकुम्वासी टोल पनि सोहोरिएर नजाला भन्ने थिएन ।
रामे, पल्लोपट्टिका शान्ता भाउजू, दुर्गामान काका आदि सबैजना आ–आफ्ना पोका पन्तुरो निकाल्न थालिसकेका थिए । जगल्टेले किंकर्तव्यविमूढ खडा आफ्नी अर्धाङ्गिनीलाई झपार्र्यो । ‘के लाटाले पापा हेर्र्या जस्तै ठिङ् उभ्या त्यो ! बटुल, तेरा टाउको ! ह्याँ सँसारै बगाउन लागिसक्यो । भुन्टेलाई सम्हाल् ।’
जगल्टेले हत्त न पत्त दराज खोलेर पैसाको चाङ, सुनको औँठी र सिक्री रुमालमा पोको पारेर आफ्नो ज्याकेटको भित्री पकेटमा कोच्यो । जिपर लगायो । बाँकी देखा जाएगा ! यो ढ्याब्रे टिभी चैँ जसरी नि बचाउनु पर्छ । यो सोच्दै टिभीको तार थुतेर जुरुक्क काँधमा उचाल्यो र बाहिर कुदिहाल्यो ।
टिभी जुरुक्क काँधमा उचाल्यो र बाहिर कुदिहाल्यो
‘ए, आओ तिमारु मेरो पछिपछि । छिटो गर् ।’
वातावरण कहालिलाग्दो बनिसकेको थियो । टोलका सबै हल्लीखल्ली गर्दै यता उता कुद्दै थिए । केटाकेटीहरूको रोइलो, ठूलाहरूको आत्तिएको क्रन्दनले वातावरण भयावह बनेको थियो । पानी पिँडौलासम्म चढिसकेको थियो । मास्तिर सडकसम्म पुग्न दस घरउताको गल्ली भएर जानुपथ्र्यो । जगल्टे टिभी बोकेर कुद्न थाल्यो । पछि पछि पोको बोकेका रानु र भुन्टे दौडादौड गर्दै थिए । गल्ली बाटो पुग्न पाँच घरयता पुग्दा पानी घुँडासम्म चढ्यो – दौडिनै नमिल्ने गरी । खुट्टा लतार्दै लतार्दै अघि बढ्दै थिए । अचानक जगल्टे ढुङ्गोमा अल्झ्यो ।
सीताराम काकाको आँगनमा ठूल्ठूला ढुङ्गा राखिएका थिए । साँझपख छरछिमेक जम्मा भएर गफसफ गर्ने चौतारीजस्तो । पानीमुनि दबेको तिनै ‘ढुङ्गे कुर्सी’मा जगल्टे अल्झिएर लड्यो र छम्लङ् पानीमा लोटियो । काँधमा बोकेको टिभी पाँच हात पर हुत्तिएर वाग्मतीको धमिलो पानीमा डुबुल्की मार्न पुग्यो । पानीमा छपक्कै डुब्न पुगेका जगल्टे दुई घुट्को धमिलो पानी निलेर जोर जोरले सड्किँदै उठ्यो ।
भयावह वातावरण
‘मेरो टिभीऽऽऽ’ अनुहार नीलोकालो बनाउँदै जगल्टे चिच्यायो । सँगै भाग्दै गरेका सन्तमान टक्क अड्यो ।
जगल्टे पानीमा फाल हाल्न ठिक्क पर्र्यो । तर बेलैमा सन्तमानले उसको ज्याकेटको छेउ समातेर तान्यो । ऊ रोकियो ।
‘छोड्दे, केटा । ज्यान नफाल्, त्यस्ता सामानका लागि । ज्यान रहे त्यस्ता लाखौँ पाइन्छ ।’
जगल्टे टाउकोमा हात राखेर पर भेलमा डुब्दै–उत्रँदै गरेको आफ्नो ४७ इन्चीको टिभीलाई हेरिरह्यो ।
* * *
त्यो रात सुकुम्बासी टोलका सबैजनाले घाटको पाटीमा बिताए । बिहानसम्म पनि पानी रोकिएको थिएन । टोल पूरै वाग्मतीले बगाइसकेछ । बिहान डुल्दै उता पुगेका दुर्गामान काकाले फर्की आएर यो दुःखद समाचार सुनाए ।
सबैजना बिलखबन्दमा परे । जगल्टे रनभुल्लमा थियो । कता जाने, के गर्ने, केही टुङ्गो लागेन । न बास रह्यो । न गाँसकै ठेगान । लाउने लुगाका नाममा रानुले बोकेको पोकोमा जे छ त्यति न हो । धन्न पैसा र गहनाचाहिँ जोगिएछ । जगल्टेले ज्याकेट बाहिरबाट छाम्यो । सहीसलामत रैछ । ढुक्क भयो ।
पचली भैरवनेरको राम्चाको दुकानमा जगल्टे आफ्नो परिवारलाई चिया–दोनट ख्वाउँदै थियो । उसको मोबाइलको घण्टी बज्यो । बाउचाहिँको रैछ । उठायो । अत्तालिएका बाबुको चिन्तित स्वर मोबाइलमा घन्कियो ।
‘छोरा ! केशव ! उता तँ भा ठाममा बिजोग भा’को रेडियोमा सुनेँ । तँ ठिक त छस् नि ?’
के ठिक भन्नु, के बेठिक भन्नु ।
‘ठिकै छ बा । ज्यान जोगियो । सामान जोगिएन ।’
‘चिन्ता नलिएस् छोरा । खान बस्न कम भा’का हैनौँ । इज्जतै भाका हौँ त बाबै । तेरै जिद्दीले उता गइस् । सय मुरी धान फल्ने खेत बाँझै छ । तँ नभएपछि केही गर्ने जाँगरै चलेन । आइज फर्केर ।’
जगल्टे सुन्दै गयो । मनमा कुरो खेल्दै गयो ।
‘दुई मुट्ठी मीठो मसिनो खाम्ला । आफ्ना ठाम भन्या आफ्ना ठाम । यतै इज्जतले बसि’खाम् । अब त हामी पनि डाँडामाथिको घाम भैसक्यौँ । तेरी आमा पनि तँ, ब्वारी, नाति सम्झी सम्झी सधैँ रोइलो गर्छिन् । तँ फर्की आइस् भने उनका’नि दुई–चार साल आयु लम्बेला । खुसीका दिन आउला बिचरीको ।’
हुन पनि ठिकै भन्या हुन् बूढाले । यो धूलो, धुवाँ, अभावको ठाउँमा जगल्टेलाई उकुसमुकुस उहिल्यै लागिसकेको थियो । बाउआमालाई पनि धेरै रुवाइयो । अब त पापै पो लाग्ला है । यिनीहरूलाई बेला छँदै हेरचाह नगरे मरेपछि गर्नु ?
जगल्टेले तत्काल फैसला गरर्यो । पूरै डन पारामा ।
‘ल बूढी । अब हामी गाउँ फर्किने । ह्याँ हाम्लाई खोलाले सुद्द देखिसहेन । आफ्नो गाउँठाउँ भन्या आफ्नै गाउँठाउँ । आफ्नै ठाउँमा फर्कौँ । दुखजिलो उतै गरौँ । आजै मोटरसाइकल बेच्दिन्छु र भोलि नै फर्किने ।’
जगल्टे सिपाघाट जाने बसको टिकट कटाउन हिँडि पनि हाल्यो । फर्केर पनि हेरेन ।
फर्केर हेरेको भए उसले देख्ने थियो, ठुस्स परेकी स्वास्नीको अनुहार अनि जिल्ल परेर उभिएको छोरो !
(निकथासङ्ग्रह ‘चोभार ब्लुज’ बाट)