मलाई याद छ – २०७३ सालतिर होला – ग्रान्डी हस्पिटल खुब धाइएको थियो । बिन्जुको पाठेघर फाइब्र्वाइडको शल्यक्रियाका सिलसिलामा ।
अनि मलाई याद छ – उनको नर्भस चेहरामा साफ झल्किएका कन्फ्युजनका बादल । जसलाई म मेरो बनावटी मुस्कानले पन्छाउन खोज्थेँ । किनकि म आफै पनि नर्भस जो थिएँ ।
“नो वरीज ! सब ठिक हुन्छ !’
यसो भन्दै गर्दा म आफै भने विश्वस्त हुन्नथेँ ।
अपरेसन थिएटर (ओटी) को ढोकासम्म पुग्दा ऊ बसेको ह्वीलचेयरको पाङ्ग्राले निकालेको चुईँ चुइँ आवाज सँगै मेरा अन्यौलपूर्ण मनस्थितिको उडानले पङ्ख हालिसकेको हुन्थ्यो । उनले फर्केर मेरो अनुहार पुलुक्क हेर्दा मैले “सब ठिक हुन्छ” भन्ने भावमा दुबै हातले थम्स अप गरेथेँ । फिस्स हाँसेर उनी ओझेल परेकी थिइन् ।
ओटी ढोका वारि म रनभुल्ल बसिरहँदा कतिखेर रातो बत्ती हरियो बल्यो, पत्तै भएन ।
अपरेसन सकिएको संकेतसँगै डाक्टरको खुशखबरी – इट वाज अ सक्सेस !!
मन चङ्गा भएथ्यो । उफ्फ !! त्यो तनाव – कसरी एक निमेषमा फुर्रर उडेथ्यो, पत्तै भएन ।
* * *
अनि आज, आज ऊ नर्भस छे किनकि म जो ओटी ढोका पारि जाँदैछु ।
* * *
कुरा शुरु गरुँ, ढुङ्गाको प्रसङ्गबाट !
ढुङ्गा यानि पत्थर – जसमा कुनै देवदेवीको आकृति कुँदिए त्यो पुजिन्छ । ढुङ्गा प्राकृतिक बुहुमूल्य पत्थर बन्न पुगे मूल्यवान् बनिदिन्छ । चट्टानसरि मजबुत बने भवनका आडभरोसा बन्छ । तर यदि शरीरभित्र अनावश्यक अवशेषको रूप लिन पुगे, पत्थरीका रूपमा दु:ख दिन्छ । कहिले पित्तथैलीमा अड्किन्छ यी ढुङ्गा त कहिले मिर्गौलामा । मेरो केसमा मिर्गौलामा अड्कियो, एउटा बदमास फुच्चे ढुङ्गो ।
मिर्गौलाको पत्थरी – जुन डेढ वर्षदेखि मेरो दाहिने मिर्गौलाको तल्लो कुनामा कैद छ । एक सेन्टि ठूलो ढुङ्गोले मेरो मिर्गौलाको वजन कति बढायो थाहा छैन, तर त्यो बोकिहिँड्दा त्यसले ल्याउन सक्ने खतराको घण्टीले भने मन हरदम बोझिल बनिरहन्थ्यो । घरव्यवहारको टन्टा, घर सर्ने चटारोले त्यो पत्थर दबिरह्यो । पत्थर बोकिरहेँ !
तर अब भने यसको विसर्जनको बेला आएको छ !
यो मेरो पहिलो शल्यक्रिया भएर पनि होला अलि ज्यादा नै कन्सर्न्ड छु । हुन त एकदम नर्मल शल्यक्रिया हो रे भन्छन् – मिर्गौलाको पत्थर निकाल्ने शल्यक्रिया । दुई प्रक्रिया मध्ये मैले PCNL अप्सन रोजेँ । जसमा चिरफारको काम त हुन्छ तर यसले पत्थरलाई सर्लक्क निकाल्न सक्छ । अर्को प्रक्रिया जसलाई RIRS भनिन्छ, जसमा कुनै चिरफार गर्नुपर्दैन तर लेजरले धुलो बनाइएको ढुङ्गोका टुक्राटाक्रीलाई फुतुफुतु तानेर निकालिँदो रैछ । भ्याकुम क्लिनरले तानेसरि । तर डाक्टरको भनाइ अनुसार मेरो केसमा पत्थरको अवस्थिति अलि अप्ठेरो ठाउँमा परेकोले साइज ठूलो नभएपनि यो मेथडबाट सिनित्तै निख्रिने चान्स भने थोरै कम रैछ । त्यसैले पहिलो मेथड रोजेँ – चिरफारै सही भनेर – पछि नबल्झोस् भनेर ।
शल्यक्रियाको मिति तोकियो – २०८२ चैत्र २५ गते बुधबार ।
* * *
गुडगाँव जसलाई अचेल गुरुग्राम भन्न थालिएको छ, दिल्लीबाट नजिकै रहेको हरयाणाको एउटा सुन्दर नगर । भारतका हेल्थ टुरिज्मका विभिन्न नगरहरुमध्ये हाल यसको नाम नेपालीहरु माझ सुपरिचित हुन थालेको छ । हुन पनि यहाँ बर्सेनि बग्रेल्ती नेपालीहरु उपचारार्थ आउन थालेका छन् । ती मध्ये मेदान्ता मेडिसिटी सबैभन्दा प्रख्यात छ र भरपर्दो हस्पिटलका रूपमा लिइन्छ ।
साँच्चै भन्दा यसपटक म पुगेको थिएँ बिन्जुको बाथ रोगको उपचारका लागि यस ठाउँ । तर भयो यस्तो कि उनको शल्यक्रिया गर्न नमिल्ने भन्ने सम्वन्धित डाक्टरको निर्क्यौलले गर्दा म आफ्नो चाहिँ वर्षौं पुरानो रोगलाई विश्राम दिने निर्णयमा पुगेको थिएँ । म आफ्नो उपचारका लागि गएको थिइनँ, तर गराउन पुगेँ ।
* * *
भन्नै पर्दा हस्पिटलको सेतो भित्ता नियाल्दै शल्यक्रियाको प्रतीक्षा गर्नु कताकता मेरालागि एउटा अनौठो र भारी अनुभव भइरहेको छ । मनको कुनामा एउटा सानो डर बसेको छ । नर्भस छु । के होला, कसो होलाको अनिश्चितताले जकडेको छ । बेहोशीको हालतमा कसरी पुग्छु होला ? निद्रामा पुग्नु जस्तै त हुँदो हो । बिउँझिन्छु त होला नि ? के म बिउँझिँदा सबै कुरा ठिक भैसक्ला त ? तर अर्कोतिर, एउटा सुखद आशा पनि छ कि यो शल्यक्रियापछि मैले मेरा कैयन् बोझमध्येका एक बोझबाट मुक्ति पाउनेछु र स्वस्थ जीवनतर्फको एक कदम नजिक पुग्नेछु ।
यसरी आज म मेरो जिन्दगीको पहिलो शल्यक्रियाको संघारमा उभिन आइपुगेको छु ।
* * *
नोट: यहाँसम्मका पङ्क्तिहरू शल्यक्रिया हुनु अघि लेखेको थिएँ । यस पछिका पङ्क्तिहरू भने शल्यक्रिया पछि संस्मरणका रूपमा लेखेको हुँ ।
* * *
ट्वीन शेयरिङ् कोठाको अर्को छेउमा तमिलनाडुबाट आएको परिवारका साथ निमोनिया भएर उपचारका लागि ल्याइएका वयोवृद्ध बुवाको गनगन, बाहिर करिडोरमा अबेर रातिसम्मको कल्याङमल्याङ्, हरेक १२ सेकेन्डमा टुँ टूँsss गर्दै एकोहोरो बजिरहने कुनै उपकरण – यी सब सुन्दै अर्धनिद्रामा रात बिताएँ । झप्प निद्रा के लाग्न खोजेथ्यो, ‘आपका अर्ली ब्रेकफास्ट’ भन्दै हस्पिटल क्यान्टीनका स्टाफले थाली राखेर गए – सखारै पाउने छ बजे ।
‘आज आपका ओटी है’ भन्दै नयाँ लुगा फेर्न लगाए, हजाम शेभ गरिदिन आए, एक नर्सले नुहाइधुवाइ गर्न डिसइन्फेक्ट्यान्ट श्याम्पु दिएर गए । दुई बजेको डेट दिइएको थियो । ब्रेकफास्टपछि खाना त के पानी पनि बर्जित थियो । यस्तो लाग्थ्यो, मानौं फाँसीमा झुण्ड्याउन लगिनु अघिको तयारी गरिँदैथियो । घडीले दुई बजाउँदा ओटी टेबलमा सुताइँदै जो थिएँ !
मेरो भन्दा अघिल्लो अपरेसन जुन किड्नी ट्रान्सप्लान्टको केस थियो, सो लम्बिन गएकोले मलाई लिन २:४५ मा मात्र आए । कागजपत्र हस्तान्तरण गरियो – त्यसअघि मलाई ठाउँठाउँमा हस्ताक्षर गर्न लगाइयो । केही गरि अपरेसन फेल खाएर मेरो परमधाम भए लफडा नहोस् भनेर विभिन्न घुमाउरो भाषासहितका कागजमा हस्ताक्षर गर्न लगाइयो । मैले पढ्दै नपढी जहाँ जहाँ भन्यो त्यहाँ त्यहाँ साइन मार्दै गएँ । पढेर के नै फरक पर्छ जस्तो लाग्यो । फर्म्यालिटी निभाउने न हो भन्ने ध्याउन्नमा झ्यामका झ्याम् साइन ठोक्दै जाँदा विरामीको फ्यामिली मेम्बरले साइन गर्नुपर्ने ठाउँमा पनि मेरै साइन गिरेछ । नर्स नयाँ रहेछ । मिस्टेक भएछ । हेडनर्स जुनियरलाई गाली गर्दैथिई । मिस्टेकवाला पाना फेरियो ।
खैर, अब भने शुरु भयो ह्वीलचेयरको यात्रा । बिन्जु र छोरी पछिपछि, स्टाफद्वारा ठेलिएको ह्वीलचेयरमा विराजमान म अघिअघि । हिँड्न त सक्थेँ, तर प्रोटोकल अनुसार अपरेसन थिएटर जाने विरामीले हिँड्नुहुन्न रे । घुमाउरा करिडोर, अनि लिफ्ट । लिफ्टसम्म मात्र परिवार अलाउड थिए । त्यतै बाई बाई गरियो । चश्मा खोल्न लगाइयो । राम्रै भो ! उनीहरुका चिन्तित अनुहारका भाव देख्नु परेन ।
लिफ्टबाट उत्रेर फेरि घुमाउरा करिडोर । चश्मा फुकालेपछिका मेरा कमजोर नजरले ठम्याइएका धमिला बान्कीहरुले अपरेसन थिएटरको ढोका मधुरो गरि खुट्ट्यायो ।
हरिया ड्रेसमा एक हुल स्टाफहरु कल्याङमल्याङ गर्दै झुम्मिन आइपुगे । १०-१५ जना नैं हुँदा हुन् । अपरेसनको प्रोसिडिङ् फटाफट शुरु भो । ह्वीलचेयरबाट म हरियो तन्ना ओछ्याइएको साँघुरो बेडमा ट्रान्सफर गरिएँ । माथि ठूलठूला बत्तीहरु थिए, जुन त्यतिखेर बालिएका थिएनन् ।
‘क्या नाम है ? किसलिए आए हो ? किधरके अपरेसनके लिए है ?’
गरिएका ‘ननसेन्स’ जस्ता लाग्ने प्रश्नका पनि आफ्नै लजिक छन् । एक त पेसन्टको स्टेट अफ माइन्ड जाँच्न । अर्को, गलत व्यक्तिको गलत ठाउँको शल्यक्रिया नहोस् भन्ने कन्फर्म गर्न । कहिलेकाहीँ दाहिने घुँडोको शल्यक्रिया हुनुपर्नेमा अर्को घुँडाको भाको समाचार सुनिएकै हो ।
अघिल्लो साँझ नैं देब्रे हातमा क्यानुला झुण्डिसकेको थियो मेरो । तर त्यसमा जडित पाइप मसिनो भएकोले अर्को क्यानुलाको जरुरत पर्यो । दाहिने हातमा जडान गर्न दुई स्टाफ तयार भए । तर त्यताको रक्तनली क्यानुलाका लागि उपयुक्त ठहरिएन । देब्रेतिरै हाल्नुपर्यो । तीखो दर्दसहित सुइरो छिर्यो बूढी औंलाको मुन्तिर । मैले दाँत किटेर सहिबसेँ । दु:खको कुरो, त्यहाँ पनि उपयुक्त रक्तप्रवाह भेटेनछ क्यारे, सुइरो झिकियो त्यहाँबाट । अब भने अर्को सुइरो घुस्यो नाडीभन्दा मुनिको भागमा । अघिल्लो घोचाइको पीडाले छोडेको थिएन, यो थप पीडाले आँखाको कुनोबाट तरक्क एकथोपो आँसु झर्यो । हात बाँधिएका थिए । पुछ्न पनि सकिनँ ।
क्यानुला जडान भैसकेपछि मैले मेरो शल्यक्रियाको अभिभारा बोकेका मृदुभाषी डाक्टर प्रीतमोहन सिंहलाई आह्वान गरेँ ।
‘आइ वान्ट टु मीट हिम बिफोर आइ गेट नक्ड अफ्फ !’ मैले भनेँ ।
फोनमा कुरा गराइयो । ‘हेलो डक्टर ! आइ वाना सी यु फेस टु फेस ह्वाइल अवेक ।’ मैले भनेँ ।
‘ओके । आ रहा हुँ । आ रहा हुँ ।’
हरियो गाउन र टाउकोमा जालिदार पातलो सर्जिकल क्याप लगाएका उनी तुरुन्तै आइपुगे । शिरमा फेटा गुथेका अग्ला कदका सरदारजीमा एउटा छुट्टै खालको चमक थियो ।
‘हेल्लो ! आर यु ओके ? अल विल बी फाइन । डोन्ट वरी !’ हँस्याइलो अनुहारले यति भनेर उनले मेरो हात समाए । मेरो कन्फिडेन्स लेभल ह्वात्तै बढ्यो ।
त्यसको लगत्तै अक्सिजन मास्कले मेरो मुख टम्म छोपियो ।
‘यह अक्सिजन है, लम्बी लम्बी सांस लो ।’ म निर्देशित भएँ ।
हो न हो, अक्सिजन नैं होला भनेर मैले जोडतोडले सास तान्न थालेँ । मलाई त्यतिखेर के थाहा, त्यो बेहोस बनाउने ग्यास दिइएको रैछ ।
‘आँख खुली रखो । बन्द होने मत देना ।’ देब्रेतिर उभिएका कोही कराउँदै थिए ।
म आँखालाई हेडलाइट जस्तै खुल्ला राखेर सिलिङ् नियाल्न थालेँ ।
* * *
सिलिङ्बाट एउटा माकुरो फनफनिँदै झर्यो र मेरो निधारमा परेड खेल्न थाल्यो ।
‘इसको हटाओ ना । मुझे मकडियोंसे सख्त नफरत है ।’ सिकसिकाउँदै मैले बोलेँ । हप्तादिन बस्दा हिन्दी फररर बोल्ने बानी पर्न थालेको थियो ।
बूढी औंला र माझी औंलालाई गोलाकार तन्काएर बिन्जुले मेरो टाउकोमा रिङिरहेको माकुरोलाई ताकेर एक ठ्याङ् हानी । अरे, बिन्जुलाई त लिफ्टको बाहिर छोडेर आएको थिएँ । यहाँ कसरी आई ?
माकुरो धुनमुनिँदै गुल्टिँदै मेरो नयाँ बिवाइडी गाडीको मुन्तिर छिर्यो । त्यतिन्जेल माकुरो ढाडे बिरालो बनिसकेको थियो । म छक्क पर्दै गरेको देखेर बिरालोले मुसुक्क हाँस्दै आँखा सन्कायो र एक छ्लाङ् मारेर मेरो घरको पर्खालपारि बेपत्ता भयो ।
म आफै पनि कसरी हो कुन्नि पर्खालपारि पुगेछु । अघिअघि बिरालो, पछिपछि म । कतिन्जेल हिँडियो पत्तै भएन । हिँड्दाहिँड्दा आखिर जाउलाखेलको चिडियाखानाको गेटमा पुगेर बिरालोले मतिर फर्क्यो र भन्यो,
‘अब तिमी फर्क । म यता छिर्छु ।’
गेट खुल्यो । बिरालो बाघमा कन्भर्ट भयो र लसक लसक लस्किँदै चिडियाखानाभित्र छिर्यो ।
म भने आएकै बाटो फर्केँ ।
* * *
आँखा खोल्दा बिन्जु मलाई हेरेर मुस्कुराइरहेकी थिई, मेरो हात मुसार्दै । म पोस्ट-अप वार्डमा रैछु । अरु एक-दुई विरामी पनि लहरै राखिएका थिए । अपरेसन सकाएर फर्काइएकाहरु । तीन घण्टाभन्दा ज्यादा समय अपरेसन थिएटरमा बिताएर म यता सारिएको रैछु ।
देब्रे हातमा दुई क्यानुलामा झुन्डिएका पाइप, दाहिने पाटोमा मिर्गौलासँग जोडिएको ड्रेन पाइप अनि मूत्रथैलीसँग जोडिएको फोलिस पाइपले सुसज्जित म, यस्तो देखिँदो हुँ मानौं कुनै अक्टोपस । लट्ठ मुद्रामा बिन्जुतर्फ फर्केर अक्टोपस फिस्स हाँस्यो ।
बिन्जुले दाहिने हातको बूढी औंला ठड्याएर ‘थम्स-अप’ वाला इशारा गरिन् ।
‘सक्सेस भो !’
अनि मोबाइल खोलेर फोटो देखाइन् । धमिलो फोटोमा राताराता रङ्गका स-साना टुक्राटाक्री ढुङ्गाका गेग्र्यानहरु थिए ।
‘१२ टुक्रा निकालेछन् ।’
हो, ती बाह्रवटा ढुङ्गाका टुक्राहरू, जसले डेढ वर्षदेखि मेरो शरीरभित्र एक सेन्टि ठूलो पत्थरको रूप धरेर डेरा जमाएर बसेको थियो र मेरो मनलाई भारी बनाइरहेको थियो, आज एउटा मोबाइलको स्क्रिनमा कैद थियो । त्यो अब केवल एउटा ‘अवशेष’ बनिसकेको थियो । अनौठो लाग्दो रहेछ, मानिसले कति धेरै समय आफ्नै शरीरभित्र कष्टका कारणहरू बोकेर हिँड्न सक्दारैछन् !
हस्पिटलको पोस्ट-अप वार्डमा बिन्जुको थम्स-अप देख्दा मलाई २०७३ सालको त्यो क्षण याद आयो, जब मैले उनलाई त्यसै गरी ढाडस दिएको थिएँ । आज भूमिका बदलिएको थियो, तर माया र भरोसाको त्यो गहिराइ भने उस्तै थियो ।
मैले मेरो अर्धचेत अवस्थामा देखेको त्यो माकुरो, बिरालो, बाघ र चिडियाखानाको सपना सायद मेरा अल्झिएका चिन्ताहरूको विसर्जन थियो । जब म पूर्ण होशमा आएँ, मेरो शरीर चिरफारको पीडाले अलि भारी त थियो, तर मन भने निकै हलुङ्गो भएको थियो । मेरो दाहिने मिर्गौलाको त्यो ‘बदमाश फुच्चे ढुङ्गो’ अब मेरो जीवनको कथाबाट बाहिरिएको थियो ।
भोलिपल्ट विहान गुडगाउँको आकाश सफा थियो । मेदान्ताको झ्यालबाट बाहिर हेर्दैगर्दा मैले महसुस गरेँ, जीवन पनि त एउटा शल्यक्रिया नै त रहेछ ! कहिलेकाहीँ अघि बढ्नका लागि आफूभित्रका गाँठाहरू र पुराना पत्थरहरूलाई मिल्काउनै पर्ने हुन्छ । चिरफारको डर एकातिर हुन्छ, तर त्यसपछिको चङ्गापन र नयाँपनको मिठास वर्णन गरिनसक्नु हुन्छ ।
आज म पत्थरमुक्त भएको छु । र, त्यो भन्दा ठूलो कुरा, म पुनः स्वस्थ भएर आफ्नो परिवारको मुस्कानमा सहभागी हुन तयार भएको छु । जिन्दगीले फेरि एकपटक ‘थम्स-अप’ देखाएको छ ।
* * *
सोचेको थिएँ, एउटा नयाँ दौरको शुरुवातसँगै छुट्टै जोश र जाँगरसहित अब म छिट्टै घर फर्किँदैछु । तर भाग्यले मेरो लागि अरु नैं सोचिराखेको रहेछ । मेरा पीडादायी अनुभवको नयाँ दौर पो शुरु हुँदै रहेछ । द्वितीय अध्याय पो शुरु हुँदै रहेछ ।
* * *
पहिलो अध्यायको अन्त्य ठिकठाक थियो । मिर्गौलाको पत्थरको सफल शल्यक्रिया भएको थियो । सोचेथेँ, अल इज वेल ! खुशहाल अवस्थामा डिस्चार्ज पनि भएथेँ । तर डिस्चार्जको चौथो दिन विहान सखारै युरिन डिस्चार्ज ब्लक भयो । Hematuria भन्दा रैछन्, सर्जरी भएको मिर्गौलाको भागबाट रक्तस्राव भएकोले urinary bladder मा blood-clot भएर मूत्रमार्ग ब्लक भएको रैछ । मूत्र-बन्दको अत्यास कोही मसँग सोध्नुस् । उफ्फ् !!
धन्न, उबर (यहाँको पठाओ जस्तै) ले दशै मिनेटमा पुर्याइदियो हस्पिटल र डाइरेक्ट इमर्जेन्सी कुदियो । म्यानुअली bladder खाली गरिएपछि बल्ल राहत महसुस भयो । अनि फेरि झुण्डियो युरिन ब्याग ।
हतार हतार CT Scan गरिएपछिको रिजल्टमा छेडिएको दाहिने मिर्गौलाका दुईतीन ठाउँको capillaries फुटेको भेटियो । जसबाट रक्तस्राव भएको रैछ । PCNL सर्जरीबाट मिर्गौला पत्थर निकालिने मध्ये १-३% लाई यस्तो हुन सक्ने सम्भावना रैछ । त्यो सानो प्रतिशतका अभागीमध्ये म परेँ । 🙁
काटकुटको काम सकियो । अब टालटुलको पालो आएछ । टालटुल सर्जरी जसलाई Embolization भन्दा रैछन्, जसमा ती puncture भागमा स्याना spring ठुँसेर टालिँदो रैछ । यसका लागि मलाई लोकल एनेस्थेसिया मात्र दिइयो । अर्थात् म पूर्ण रूपमा होशोहवासमा थिएँ । त्यसपछि खुट्टाको कापमा छेडिएछ क्यारे, मासु मरेकोले मैले खासै चाल पाइनँ । छेडिएको भागबाट sheath भनाउँदो चीज घुसाइएको हल्का चाल पाएँ । त्यसै sheath को भित्री खोक्रो भाग हुँदै मेरो मिर्गौलाको टालिने भागसम्म मसिनो औजार घुसाइएको हुनुपर्छ । Robotic का सहायताले सूक्ष्म उपकरण चलाउँदै अगाडिको मनिटरमा हेर्दै मेरो खुट्टानिर तीनजना डाक्टर खुसुरफुसुर साउती गर्दैथिए ।
‘इधरका होना चाहिए । लगता है – यह वाला ठिक है ।’
क्या ठिक है, क्या बेठिक है । आफ्नो हालत भने ‘बहुत बेठिक है’ भैरहेको थियो ।
छिनछिनमा एकजना फेटावाल डाक्टर चिच्याउँथे, ‘सासको वहीं रोकके रखना ।’
म निसास्सिने गरि सास रोकी बस्थेँ ।
‘अब सांस ले सकते हो ।’ यसको मतलब सास फेर्न सक्छौ भनेको हो ।
एकपटक डाक्टरले ‘सास ले सकते हो’ भन्न बिर्सिँदा म भने सास रोकेको रोक्यै – अत्तालिने गरि ।
तीन घण्टा लामो टालटुल कार्यक्रम सकाएर पोस्ट-अप वार्डमा ल्याइँदा रातिको ११ बजिसकेको थियो । खुट्टाको कापबाट अघि घुसाइएको sheath झिकेर १५-२० मिनेटसम्म ज्यानै जालाजस्तो गरि थिच्दा रैछन् । यसो नगरे त्यो भागबाट भयानक bleeding हुने सम्भावना रहेछ ।
थिच्ने जिम्मा पाएका अधबैंसे नर्स साह्रै फरासिला । ट्याउँट्याउँ बोलिरहने ।
थिचुन्जेल उनको रामकहानी सुनाइभ्याइन् ।
‘अब मैं इधर काम नहीं करनेवाली । मुश्किल है इधरका काम । क्या करें ! छोटा बच्चा है घरमें । नहीं तो कबका छोड चुका होता !’
लखतरान म, शिर हल्लाएर समर्थन जनाउने सिवाय अरु के पो सहानुभूति दिन सक्थेँ र । आफै सहानुभूतिको पात्र जो थिएँ त्यसबखत ।
यी सब कार्यविधि समापन गरेर क्याबिनमा सरिवरि सुत्ने जमर्को गर्ने बेलासम्ममा २ बज्न लागिसकेको थियो ।
* * *
अर्को दिनबाट दु:खका दिन सकिए भन्ठानेको ज्वरोले पछारिहाल्यो ।
‘कोइ बात नहीं । होता है । Post-embolization effect है ।’ राउन्डमा आएका डाक्टरहरुको बिन्दास पाराको उद्गार । सेन्टिफ्ल्याट म टाउको हल्लाउँदै फिस्स हाँसेँ ।
‘कोइ बात नहीं,’ मैले मनमनै भने् । छिट्टै ज्वरो घटिहाल्ला नि, मैले सोचेँ । तर सोचेजस्तो कहाँ पो हुन्थ्यो र ।
ज्वरो ५ दिनसम्म रह्यो । अनि फेरि ज्वरो रहुन्जेल मभित्र राखिएको DJ stent निकाल्न पनि नमिल्ने ।
धन्न ज्वरो पाँचौँ दिनको साँझ मत्थर भो र छैठौं दिन स्टेन्ट निकाल्ने कार्यक्रम तय भयो ।
हुन त यो सानो छोटो प्रक्रिया हो । तर शल्यक्रियाका सम्पूर्ण औपचारिकता निभाउनुपर्ने रहेछ । कागजपत्रमा हस्ताक्षर । ओटी कक्षसम्म ह्वीलचेयरमा शयर । ठूलाठूला बल्ड्याङ्ग्रे लाइटको मुनि लम्पसार । लोकल एनेस्थेसियाले शरीरलाई न्यानो पारेर तत्पश्चात् शरीरको त्यो भाग ‘बेहोश’ बनाउने प्रक्रिया, अनि त्यसपछि शरीरभित्र घुसेका पाइपहरुको चलमलाहट अनि स्टेन्ट शरीरबाट छुट्टिँदाको हल्का ‘आउच’ वाला एहसास ।
‘मुझे पहचाना ?’ प्रक्रियापछि मास्क लगाएर चिन्नै गाह्रो बनेका डाक्टरले सोधेका थिए ।
नहीं तो ।’ मैले भनेँ । कसरी चिन्नु । एक त तनावमा । अर्को चश्मा थिएन । त्यसमाथि तिनी मास्कमा ।
‘मैं राउन्डमें आनेवाला !’
‘अरे हां !’ कति न चिने झैं गरि भनेँ । घरि को घरि को राउन्डमा आइबस्थे । यिनी कुन चैं हुन्, मैले थम्याउन सकेको त थिएन, तर चित्त दुखाउला भनेर लेघ्रो तान्दै ‘हेल्लो, थ्याङ्क यू’ पनि भन्न भ्याएँ ।
पछि पो चिनेँ, उनी राउन्डमा आउने डा. मोहित रहेछन् ।
* * *
भोलिपल्ट, डिस्चार्जको दिन ।
मेरो त्यस अस्पतालबाट दोश्रोपल्टको डिस्चार्ज ।
तीनपटक अपरेसन थिएटर पसेर, अघिल्लो ५ दिन र पछिल्लो ८ दिन गरेर जम्माजम्मी १३ दिन अस्पताल बास बसेर म डिस्चार्ज भएँ । मेदान्ता अस्पतालको Block A को १२ औं तल्लामा रहेको रुम नं ५२३९ बाट मुक्त भएँ ।
डिस्चार्ज हुनुअघि मेरो स्टोनको शल्यक्रिया गर्ने डा. प्रीतमोहन सिंह, स्टेन्ट निकाल्ने डा. मोहित तथा मलाई हरेक दिन आएर मेरो ख्याल राख्ने डा. डोनीसित एक मेमोरी शट लिएँ । यादको खातिर !! मेरो सफल उपचारमा उहाँहरुको ठूलो भूमिका रह्यो । ठूलै गुण लगाए । जीवनको बाटोमा उहाँहरु फेरि भेट होला नहोला, तस्बिरमा त साथै रहौँला ।
* * *
अहिले सम्झिल्याउँदा यस्तो लाग्छ कि एउटा सानो ढुङ्गाले दिएको पीडाले मलाई केवल शारीरिक रूपमा होइन, मानसिक रूपमा पनि मनग्गे थकायो, तर यस्तो अवस्थामा पनि दुबै रूपमा बलियो बन्न सिकायो पनि । अस्पतालका ती दिनहरू पीडा, डर र अनिश्चितताले भरिएका थिए, तर त्यही बीचमा भेटिएका डाक्टरहरूको समर्पण, नर्सहरूको केयर, मेरो परिवारको स्नेह र आफ्नै धैर्यले मलाई फेरि उठ्न सिकायो पनि ।
जीवनले कहिलेकाहीँ यस्तै अप्रत्याशित मोडमा पुर्याउँछ, जहाँ आफूलाई कमजोर ठानिन्छ । तर त्यही कमजोरीभित्र लुकेको सहनशीलताले नै नयाँ शक्ति दिन्छ । समयलाई फर्केर हेर्दा यस्तो लाग्छ कि ती १२ दिन केवल दुःखका दिन थिएनन्, ती त जीवनलाई अझ गहिरो रूपमा बुझ्न सिकाउने, कृतज्ञ हुन सिकाउने र सानोतिनो खुशीको मूल्य थाहा पाउन सिकाउने पाठ बनेको छ । त्यो विगत जुन घट्दैगर्दाको बखत निर्मम त थियो, तर त्यो विगत अबका दिन मीठो पीडा बनेर सदैव मेरो सम्झनामा रहिरहनेछ ।