नारानहिटी ‘टेम्पर्ड-ग्लास’ बाकसभित्र श्रीपेच थपक्क सजिगयो।
झोंकैमा हो कि कुन्नि, छोटे ‘झ्याप्ले’ ताल ‘ताल’ बेताल भैगयो।
थकित जिउ, हर्षित मन, अवसाद सब कता हो कता छुटिगयो।
नवयुगको शुरुवात सम्झी मन गदगद् हर्ष विभोर भैगयो।
*
सोचेँ, वर्गविहीन समाजको वर्गाकार संरचनामा मै पनि खुद अटिगयो।
तर लौ न, पारिलो घाममा देह सेकुँ भन्छु, प्रचण्ड सूर्यको रापले डढिगयो।
रुखको छहारीमा लुकुँ भन्छु, सब पात झरेर शीतल छाँया हटिगयो।
गोमाता निरीह आफै, हल-गोरुले लखेटिई बाख्रीपाठी बनिगयो।
*
सर्वहारा भनाउँदा लँगोटीधारीहरु सर्वत्र सदा झैं हारिगयो।
बुर्जुवा भगाउँछु भनी कुर्लिनेहरु स्वयम् नव-बुर्जुवा बनिगयो।
‘के यही दिनका लागि मेरो बुई चढेको?’ एकदिन प्रश्न मुखबाट छुटिगयो।
डँडाल्नोमा दनक दिई भन्यो कि ‘के तिमी विकास बिरोधी भैगयो?’
*
मेरा नीला दाम देखी मार्क्सले झ्याप्ले दाढी माथि नीलो मास्क लगाइगयो।
लाजले हो कि कोरोनाले, आधा अनुहार आफ्नो छोपिगयो।
हरे! अब त यी तेत्तीस कोटी दानव पोस्ने झञ्झट पो आइगयो।
रसिला चोक्टा खान गएकी ‘बूढी’ झोलमा डुबेर खुत्रुक्कै परिगयो!
***
(फेसबुकमा पोष्ट गेरेको मिति: २०७७ आश्विन ६ मंगलबार )