फेरि अर्को गन्थन हिंडाईकै

एकतमासले एक्लै हिँड्नुको आफ्नै रस छ। धेरैलाई भने निरस लाग्दो हो। म चैं प्राय: रमाउंछु। आफ्नै सुरमा जता मन भो उतै हिंड्यो, उतै मोड्यो। मनमौजी कदम न हो, रल्लिंदै कहिले पाखो फराल्दै खोंच तिर लागुं भन्दा’नि लौ। कतै चौरी भेटे उतै लम्पसार परुं भन्दा’नि लौ। भर्खरै माघे झरी रोकिएको मौसम, घमाईलो न घमाईलो। कतै कतै बांकी रहेका पहेंलपुर तोरीबारीबाट हावाको झोंका संगसंगै तोरीको ताजा सुवास लिएर आउंथ्यो, मनै हरर पार्दै। घाँसे मैदानमा लमतन्न पल्टेर नीलो आकाशमा सेतो बुट्टे बादल नियाल्दै गर्दा कहिले हात्तीको बान्की परेको देख्छु त कहिले उड्दै गरेको चरोको झझल्को।

किन हो खै, यसरी आकाश नियाल्दा छिन छिनमा बालापनतिर स्मृति डोरिँदो रैछ। सानोमा घरको जस्ताको छानामा उक्लेर घन्टौं आकाश नियाल्थें। माघको महिना उत्तरतिर हिमाल छ्याङ्ग परेको हुन्थ्यो। अहिले जस्तो कहाँ हुनु। अब त हिउँदमै पनि उपत्यकाको खाल्डोबाट हिमाल बिरलै देखिन्छन्। धमिलो तुंवालोको बर्को ओढिबस्छ संधै।

दक्षिणतिर भने समय समयमा प्याराशुटबाट सैनिकहरु फराल्ने गर्थे। खुब मज्जा लाग्थ्यो हेर्न। हवाईजहाज दक्षिणी आकाशको माथि सुलुलु बग्न थालेपछि क्रमैसित सात आठवटा किर्ना जस्ता आकृति हवाईजहाजबाट फुत्त फुत्त निस्किन्थे, पालैसित सेता डल्ला बन्थे अनि आकाशमा कावा खाँदै खाँदै मुनि विलीन हुन्थे। धेरैसम्म थाहै थिएन ती कहाँ बिलाउँछन् भनेर। पछि मात्र थाहा भो, बागमतीको किनारतिर खोकनाको खेतमा प्याराजम्प हुने रैछ। त्यही ठाउँ जहाँ अहिले फाष्ट ट्रयाकको जिरो प्वाइण्ट राख्ने कुरामा विवाद छ।

यादहरु भनेको पनि गज्जबै हुन्छन्। सोच्दै जांदा यस्तो लाग्छ कि जिन्दगीको दुई पाटो हुंदो हो। पहिलोमा यादहरु बन्छन्। हरेक घटना परिघटनाले बनेका ती स्मृतिहरुलाई जीवनको मजेत्रोमा यत्र तत्र फूलबुट्टा भरेझैं सजाउँछौं। समय संगै कैयन बुट्टाहरु मेटिन्छन्। गाढा रंगले भरिएका, मनमा गढेका स्मृतिहरू भने रहिरहन्छन्। अनि अर्को पाटोमा पुगेर तिनै गाढा स्मृतिले भरिएको छिर्केमिर्के मजेत्रोमा सजिएका कुनै फुस्रे त कुनै रंगीचंगी बुट्टा नियाल्दै कहिले खिन्न हुन्छौं त कहिले रमाउँछौं।

आज बुङ्गमतीतर्फबाट चुनदेवी नपुग्दै बायाँ पट्टीको कुलोको बाटो हिंड्दा भने म रमाएँ। जब यस्तै कुनै रमाईलो स्मृतिले मन झक्झकायो।

हाम्रो घरको दक्षिण पट्टीको गोरेटो छिचोलेर ओरालो लागेपछि भेटिने चक्रपथ नाघेपछि बागडोल आईपुग्छ। अहिले त घरै घरको थुप्रोमा उहिले हिंड्ने गोरेटाहरु निमिट्ट्यान्न भैसके। कैयन पटक ती बाटाहरु ठम्याउने कोशिस गर्छु, तर स्वरुप परिवर्तन भएर अब ती चिन्नै नसकिने सडकमा परिणत भैसके। तिनै मध्येको कुनै एक चाक्लो सडक उहिलेको हाम्रो हिंड्ने गोरेटो हुने गर्थ्यो।

त्यही गोरेटो छिचोल्दै नख्खु खोला पुग्नै लाग्दा खेत खेतमा पानी लान बनाईएको कुलोको तिरैतिर हामी साथीसंगी बग्रेल्ती लश्कर लागेर हिंड्थ्यौं। सांघुरो बाटो। चिप्लिएर नहरमै पनि खस्थ्यौं। तर खासै गहिरो हुन्नथ्यो। जुत्ता र पाईन्ट लप्पक्कै भिज्थ्यो। बाँकी त बालै भएन।

खोलाको तिर पुगेपछि भने हाम्रो ठूलो मिशन शुरु हुन्थ्यो। जुत्ता फुकालेर लहरै किनारमा राख्थ्यौं अनि घुंडा घुंडासम्म पाइण्ट सारेर खोला छिर्थ्यौं – शिकारीको जठ्ठा। छिपछिपे पानी भाको भाग रोजिन्थ्यो। ढुङ्गा बटुलबाटुल पारेर घेरा लगाईन्थ्यो – शिकार फुत्किन नदिन। शिकार के भन्नुहोला। उही त हो – कालो न कालो हेर्दै घिनलाग्दो हिले माछो। घेरा लगाएपछि पानी मुनिका ढुङ्गाका ओत ओतमा छामछाम छुमछुम शुरु हुन्थ्यो। ढुङ्गाका काप काप तिर औंला सल्बलाउंदै गर्दा कहिले कुनै चीज सल्बलाउंदै औंलाको कापबाट फुत्त निस्किन्थ्यो। कुनै बेला लेउका बाक्ला मुुुठोलाई माछो भनेर झुक्किन्थ्यौं। खोला मुनिका काई परेका ढुङ्गाहरु साह्रै चिप्ला हुने। त्यसमा टेक्न पुग्दा कति पटक त छम्लङ्गै लडिन्थ्यो। शायद यही भएर होला कोई लड्यो भने हामी माछा मार्यो भनेर भन्छौं। तर सांचै भन्ने हो भने माछा मार्ने कलामा म पारङ्गत थिएँ पनि, थिईनँ पनि। किनभने माछा पकड्नु भन्दा बढी म लड्थें। फेरि, पकडेको माछा ढुङ्गामा बजारेर मार्ने हिम्मत नै हुन्थेन, त्यही भएर हातमा आएको माछो पनि सुटुक्क छोड्दिन्थें। नतिजा के भो भने पछि हुँदै जांदा शिकारी समूहबाट म वहिष्कृत भएँ।

आज पनि उस्तै कुलोको बाटो हिड्दै गर्दा ऊ बेला लश्करै हिंडेका क्षणहरु याद आयो। तर आज म लश्करमा हिंडेको त छैन। तर पुराना यादहरु भने ताजा भए।

आफ्नै धुनमा सुस्त सुस्त बग्दै आएको कुलोको पानीको कलकल ध्वनि संगै थरिथरि चराहरुको चिरविर मिसिंदा सुनिने मधुरम आवाज सुनेर मन आनन्दित भयो। यस्तो लाग्यो कि मनलाई यस्ता सानातिना कुरामा रमाउने बानी बसाउन सकियो भने खुशी रहन गाह्रो हुन्न। तर हामी सुखको खोजीमा टाढा टाढासम्म यस्तरी भौतारिन्छौँ कि नजिकै रहेका खुशी दिने सानातिना कुराहरुको भेउपत्तै पाउंदैनौं। बत्ती मुनि अँध्यारो जस्तै न हो।

कुलोलाई पछ्याउंदै जाँदा कहिले बुट्यान त कहिले बनको सियाँल। कहिले झाडी त कहिले बाँसको झ्याङ्ग। बाँसको हरेक आँख्लामा शुरुको बेला उम्रेको हरियो ढकनी सुकेर टपरी जस्तो देखिने खोस्टो बन्दो रैछ। हरेक आँख्लामा यस्ता टपरीहरु खप्टेर बस्दा बाँसको खाम्बो निकै कलात्मक देखिने। बाँस बढ्दै जाँदा भने यी खोस्टा झर्दा रैछन्।

म हिंडेको कुलोको बाटोको देब्रेपट्टी खेत र थोरै दूरीमा नख्खु खोला। हो, त्यही नख्खु खोला, जुन यहाँ देखि बग्दै बग्दै हामी हिले माछो शिकार गर्ने ठाउँ सम्मै पुग्छ। अलमलको कुरो भनुं या रमाइलो, कुरो चैं के भन्दाखेरिन् नि, भारदेउतिर बाट शुरु हुने यो खोलालाई त्यतातिर भारदेउ खोला भन्दा रैछन्। पूर्वबाट पश्चिमतर्फ बग्दै बग्दै नल्लु ईलाकामा आईपुगेपछि नल्लु खोला। घुम्रिएर उत्तरतिर लागेपछि टीकाभैरवमा पूर्वतिरबाट आएको लेले खोला र पश्चिमतिरबाट आएको बुरुङ्गचुली खोला जोडिएपछि बल्ल नख्खु खोला बन्दो रैछ। र अन्तमा, बग्दै बग्दै चोभार मुनिको नख्खु दोभानमा बाग्मतीसंग समाहित हुन्छ।

कुलो भन्दा माथि माथि दाहिने तिर भने छम्पी हुँदै टीकाभैरव जाने सडक लमतन्नै परेको छ। देब्रेतर्फ मुन्तिरका खोला किनारका खेतहरुले भने ठाउँठाउँमा स्वरुप परिवर्तन गरेर ईंटाभट्टाको रुप लिएछ। खेतीपातीको झन्झट बिना बढी आयश्रोत देखेर हो कि बढ्दो शहरीकरण संगै ईंटाको माग बढेर हो खेतहरुको स्वरुप बदलिने क्रम बढेको छ। यहाँ मात्र नभै उपत्यका भरि यही हालत छ।

हिंड्दै जाँदा कहिले सानोतिनो बस्ती पनि छिचोलिईने। त्यति साह्रो मान्छे नहिँड्ने बाटोमा एक्लो ज्यान लुखुर लुखुर हिंडेको देखेर साना साना नानीहरु रमाउंदै हेर्थे। कोही नआउने भन्ठानेर पो होला, आँगन आँगनमा निसंकोच पसारिएर सुतिरहेका महिलाहरु मेरो आहतसंगै जर्याकजुरुक उठ्थे। जांदाजांदै कुलोले खेतको बाटो पकडेपछि म पनि संगसंगै खेतमा झरें। हिउँदे तरकारी लाउंदै गरेका किसानहरु फाट्ट्फुट्ट देखिन्थे।

पिउने पानी लान आज पनि भुलेछु। मुख प्याक प्याक परेर अति नै भएपछि खेतमा काम गर्दै गरेकी एउटी आमैसंग पानी नमागी धरै भएन। बोतलमा थोरै देखेर एक घुट्को मात्र खाउँ भन्दा भन्दै तीनचार घुट्को कममा चित्तै बुझेन। प्यास जमेरै लाग्या जो थियो। चापागाउँ देखि खेत गर्न आएकी रैछिन् आमै, उतैकी रैथाने। यिनका लागि कम्तिमा डेढ घण्टाको बाटो हुंदो होला। टाढादेखि आउनुपर्नाको दुखेसो पोखिहाले। उनैसंग कुरा गर्ने सिलसिलामा यो कुलो टीकाभैरव जाने बाटो छेउबाट नख्खु खोलाको पानी छेकेर ल्याएको भन्ने थाहा भो। पुगनपुग बुङ्गमतीसम्मैको पाखोका खेतबारीको लागि पानीको जोहो यसैले गर्ने रैछ।

एकै छिनको आमैसंगको गन्थनका क्रममा सुस्ताउने मौका पाएँ। पानीको तीन घुट्कोले हर्हराको आँत थोरै भए पनि शीतल भो। अगाडि बढ्दै जाँदा खेतबारी सकिंदै गयो, नख्खु खोलो नजिकिंदै गयो, पूर्वतिरको ठूलो हरियो डांडा वर वर आउन थाल्यो। आखिर कुलोको उद्गम पुग्दा देखें कि म नख्खु खोलाको पल्लो छेउमै पुगिसकेछु। खोलोलाई बारेर एक छेउको पानी नहरमा डाइभर्ट गरेको रैछ। यसभन्दा अगाडि जाने बाटै थिएन। नख्खुको ढुङ्गे बगरमा यता न उता परें। खोलो नतरी सुखै थिएन। सडक पारि पर्र्यो। असारे भेलको बेला भा’भए असम्भव नै हुन्थ्यो तर अहिले पानीको बहाव कम हुँदा गाह्रो परेन। नख्खु खोलो बच्चै देखि तर्ने गरेर हो कि किन हो, यता तिरको छिपछिपे नख्खु तर्न धक लागेन।

हुन पनि ऊ बेला हिले माछो शिकार गर्ने बखत नख्खु कति तरिन्थ्यो, तरिन्थ्यो। नख्खु त के, बागमती नै तरिन्थ्यो। नख्खुको किनारै किनार पश्चिम तिर लाग्दा दोभान पुगिन्छ, चोभार डांडाको फेदैमा, जहाँ नख्खु खोला बागमतीमा मिसिन्छ। चैततिर बागमतीको पानीको भेल कम हुँदा कम्मर कम्मर सम्म मात्र पानी आउंथ्यो – खास खास ठाउँमा। हामीलाई थाहा हुन्थ्यो। ती ठाउँबाट भने तर्न मिल्थ्यो। डरमर्दो त हुन्थ्यो नि। तर पारि डांडामा लटरम्म फलेको ऐंसेलुको आसले डर मार्थ्यौं। मरि मरि ठाडो उकालो चढेर ऐंसेलुको झ्यांग पस्थ्यौं। काँडाको परवाह नगरेर टिप्थ्यौ, अघाइन्जेल खान्थ्यौं र चिथोरिएको हात पाखुरा बोकेर ऐंसेलुको च्यापच्याप परेका हात बाहुलामा पुछ्दै अघि चढेको ओरालो चिप्लिंदै झरेर बागमती तरिवरि फर्किन्थ्यौं। अहिले पनि बल्खुबाट दक्षिणकालीतिर जाँदा चोभार डांडा मुनि सडकको देब्रे छेउका ऐंसेलुका पोथ्राहरू देख्दा ती दिनहरु झल्झली सम्झिन्छु।

खोला तरेपछि भने अब हिले सडक हुँदै नगई सुखै भएन। घाम उति नपर्ने कोप्चो ठाउँ भएर क्यार ठाउँ ठाउँमा खुबै हिलो। ट्रिपर पनि तारन्तार कुद्ने रैछ यो सडकमा। बालुवा गिटी परै भारदेउ देखि नै पनि ओसार्दा रैछन्। धन्न बाटो ज्याद्रो नै उबड खाबड रैछ र ट्रिपरहरु ज्ञानी पाराले सुस्त सुस्त गुड्दै थिए। नभए यता’नि आतङ्कै मचाउंदा हुन्। ढल्की ढल्की आएका ट्रिपरहरुबाट साईड लाग्दै गर्दा सयौं फिट माथि तुर्लुङ्गै झुण्डिएको ईटाहिटिको झोलुङ्गे पुल देखें। यो पुल तरेर पूर्व लाग्ने हो भने सेराफांट हुँदै चापागाउँ पुगिन्छ। उहिले त्यो बाटो हिंड्दा त्यही पुलबाट मुनि हेर्दा साना साना खेलौना जस्ता ट्रिपर कुद्दै गरेको देख्थें। आज आफै यही खाल्डामा उभिएर माथि हेर्दा पुलबाट तल हेर्दै गरेको व्यक्ति आफै पो हो कि जस्तो झझल्को पर्र्यो। अनौठो अनुभूति! एक प्रकारको डेजाभू।

अब दायाँ बायाँ डांडाको बीचको गल्छेँडो जस्तो भाग हुँदै हिंड्नु पर्ने भो। देब्रे तर्फको डांडालाई आनन्दबन भन्दा रैछन्। दाहिने तर्फ नख्खु खोला ढुंगे चट्टान हुँदै छङ्ग छङ्ग झर्दै थियो। शायद मुसलधारे असारे झरीको बेला यो बाटो खोलाको पानीले छपक्कै पुरिँदो हो, बाटो पूरै थुनिँदो हो।

आधा घण्टा जतिको हिंडाई पछि भने गल्छेँडोको बाटोले मलाई टीकाभैरव पुर्र्याएर छोड्यो।

र, अन्त्य भयो मेरो आजको यात्रा।

तर, अन्त्य शुरुवातकै लागि त हुने हो, फेरि अर्को गन्तव्यको शुरुवातको लागि। जसरी दिनको अन्त्य अर्को दिनको शुरुवातका लागि। जीवनको अन्त्य अर्को जीवनको शुरुवातका लागि। त्यसरी नै एउटा यात्राको अन्त्य अर्को यात्राको शुरुवातको लागि।

फेरि, जीवन जिउनु नै पनि त एउटा यात्रा हो। कसले नबुझेको छ र।

त्यसैले, थाक्न पाइन्न। थाक्नु हुन्न।

किनभने यात्रा अनन्त छ। यात्रा अविराम छ। यात्रा अविरल छ।

अस्तु।

यात्रा मिति: २०७५ माघ २१ सोमवार

(फेसबुकमा पोष्ट भएको मिति: २०७५ माघ २३ बुधवार)

Facebook Comments