हाम्रो बास्केट फण्डको अर्धवार्षिक दुई दिने आउटिङ्ग कार्यक्रम यसपटक मनकामनामा आयोजना गरियो। बसियो मनकामना फूलबारी रिसोर्टमा पुष २७ र २८ गते। केबल कार चल्नु अघि मनकामना पुग्न आँबु खैरेनीबाट दरौंदी र मर्स्याङ्दी खोला तरेर ठाडो उकालो तीन घण्टा चानचुन हिंड्नु पर्थ्यो। त्यही बाटो हुंदै जाने हो भने मन्दिर पुग्नै लाग्दा दायाँ तर्फ छ यो रिसोर्ट। मन्दिरदेखि दुई मिनेटको दूरीमा। बुझ्दै जाँदा ऊ बेलाका मल्ल लज र जोशी लज गाभेर सोही स्थानमा यो रिसोर्ट बनेको रहेछ।
अर्को दिन छोटो हाइकिङ्ग पनि गरियो। बाटो पैंतालिस मिनेटको, तर हामी एक घण्टा भन्दा बेसी लगाएर पुगियो बक्रेश्वर महादेव थान। यो पीठमा सतीदेवीको जिह्वा अर्थात् जिभ्रो पतन भएको बिश्वास गरिन्छ। यसै पीठलाई बक्रेश्वरी माईका नामले पुज्न थालियो। जनबिश्वास छ कि कुनै बालकको समय पुगेर पनि वाक्य फुटेन याने बोल्न जानेन भने यस माईको दर्शन पश्चात बोल्न सक्षम हुन्छ। त्यही भएर यस माईलाई कोई कोई बकेश्वरी माई पनि भन्दा रहेछन्। बक्न सक्षम बनाउने भएर पो हो कि?
बक्रेश्वर महादेव नजिकै गोरखनाथ गुफा रहेको छ। यस गुफासंग हामीले सुन्दै आएको एउटा किंवदन्ती जोडिएको छ। बाल्यकालको बेला गोरखाका राजा पृथ्वीनारायण शाहलाई गोरखनाथ बाबाले जुठो दही खान दिंदा घिनाएर खसाल्दा गोडामा परेको कारणले स्वयं हिंडेर युद्ध गर्दै हिंड्नुपरेको भन्ने किंवदन्ती छ। यो घटना यसै स्थानमा घटेको हो भन्ने जनविश्वास रहेको कुरा सोही स्थानमा आश्रम बनाई बस्नुहुने जोगी महाराजबाट सुनियो। राजाले दही खाँदा हुन् त बोलीकै भरमा याने उर्दी जारी गरी गरी युद्ध गर्ने रहेछ। आफ्नो प्रसाद खान घिन मानेकोले दण्ड दिएको अरे, गोरखनाथ बाबाले। यस्तै भन्थे महाराज। जिस्क्या हो कि के हो उनै जानुन्।
यस ठाऊँ भन्दा पैंतालिस मिनेट जति उत्तरतर्फ गोरखा जाने बाटो पट्टि उकालो हिंडे पछि मनकामना माईका प्रथम पूजारी तथा सिद्ध लखन थापा अलप भएको गुफा छ भन्ने सुनें। जसलाई लखन गुफा भनिँदो रहेछ। गुरु गोरखनाथले यिनै लखन थापालाई अघि भनिएको गोरखनाथ गुफामा सिद्धि प्रदान गरेको हो भन्दा रैछन्। यसको विस्तृत कथासार के हो भन्ने बारे महाराजजीले केही बोलेनन्। हामीले पनि सोध्न बिर्स्यौं। अनि समयाभावले गर्दा सो स्थान पुग्न पनि सकेनौं।
मिति: २०७५ पुष २७ र २८ गते।