हिंडाईका गन्थन

ऊ बेलामा म इस्कुले ठिटो हुँदा यति बेला मीन पचासको बिदा चल्दैहुन्थ्यो। मीन याने माछोलाई सुद्द जाडो लाग्ने पचास दिन भएर मीन पचास भनेको अरे। मंसिरमा क्लास चढ्ने अन्तिम परिक्षा लगतै बिदा शुरु हुन्थ्यो, र फागुन नलागेसम्म दुई महिना बिन्दास। शुद्ध जाडोको बेला सिरकमा गुट्मुटेर सुतिन्थ्यो, बिहानको नौ बजे सम्म पनि। ईस्कुल छुट्टी जो हुन्थ्यो। अहिलेका विद्यार्थीहरुको जाडोको छुट्टी पनि छैन कै बराबर। यस्तो जाडोमा स्यु स्यु गर्दै बिहान सखारै क्लास लिन कुद्दै गरेका साना भाइबहिनीहरुको लर्को देख्दा ऊ बेला हामी भाग्यमानी पो थियौं कि जस्तो लाग्छ।

मीन पचास बिदाकै कुरो गर्दा यो बिदामा किन हो कुन्नि हाम्रामा डण्डीबियो खेल खुब खेलिन्थ्यो। एको दुओ गर्दै सात डण्डी बराबर एकका दरले अहिलेको क्रिकेटमा झैं रन बटुलिन्थ्यो। रन बटुल्ने यिनी ब्याट्सम्यान भए। बियो फाल्ने बोलर। मिड्फ़िल्ड्का खिलाडी झैं यसमा पनि बियोलाई क्याच गर्न तम्तयार खिलाडीहरु हुन्थे। मेरो घर अगाडि ठूलो मैदान थियो। त्यहीं खेलिन्थ्यो। कहिलेकाहीं त घर भन्दा भित्र पट्टीको बाटैमा पनि खेलिन्थ्यो। कुन चैं गाडी गुड्थ्यो र उति खेर? अहिले जस्तो कहाँ हुनु।

हामी डण्डीबियो खेल्ने मैदानको संगै बाँसको झ्याङ्ग हुने गर्थ्यो। यो झ्याङ्गको मुन्तिर गोरेटो। गोरेटो पुग्न भने सानो पर्खाल नाघ्नु पर्थ्यो। ढुङ्गे पर्खालको बीचमा एउटा लामो चेप्टो ढुङ्गो चेपिएको थियो, गारोलाई आरपार हुने गरि। यसले भरेङ्गको खुड्किलोको जस्तो काम गर्थ्यो। यसको एका पट्टीको चोसोमा टेकेर उक्ल्यो अनि अर्को पट्टीको चोसोमा टेकेर ओर्ल्यो। खेतको छेवै छेउ साँघुरो गोरेटो हुँदै अगाडि बढेपछि ओरालो आउँछ। झरेपछि चक्रपथ। बिदाको फुर्सदमा यो गोरेटो हिंड्न खुब मन लाग्थ्यो। बाँसको झ्याङ्ग मुनिबाट शुरु हुने साँघुरो परेको यो गोरेटो अर्को छेउसम्म पुग्दा रुखै रुखले झ्याप्पै छोपिसकेको हुन्थ्यो। त्यो गोरेटोमा हिंड्दै गर्दा लाग्थ्यो मानौं हरियो सुरुङ्गमा हिंड्दैछु। हुन त जाडोमा रुखका पात झरेर सुरुङ्गको छत ठाउँ ठाउँमा भ्वाङ भने पर्र्या हुन्थ्यो।

अब…

अब त त्यो गोरेटो सडक पो बनेछ।

अब कुरोलाई अन्तै मोड्छु।

एकाध वर्ष अघि कलङ्कीबाट नैकापको बाटो हुँदै जंगलै जंगल दहचोक गएको थिएँ। गोरेटो बाटो हुँदै, जंगलको छहारी हुँदै। आज फेरि उतै जाने मन भो र गएँ। तर,

अब त त्यो गोरेटो सडक पो बनेछ।

विकास हुनु ठीक हो। तर जंगलै सखाप पारिँदै गरेको देख्छु, मनमा ऐंठन हुन्छ। जता जान्छु पहेंला पाँच औंले दैत्यहरु, जसलाई डोजर पनि भन्छन्, चल्मलाईरहेको देख्छु, पहाड खोस्रिरहेको देख्छु, खेतहरु खोस्रिरहेको देख्छु। अनि मनमा ऐंठन हुन्छ। यस्तो लाग्छ कि यी डोजरहरुका लागि अग्ला पहाड, सम्म नपरेका खेत शत्रु नै हुन्। खोस्री खोस्री निमिट्यान्न पार्न उद्यत छन्।

अनि सोच्छु। यो कस्तो विकास, जसमा उपत्यका पूरै विरुप हुन जरूरी भयो। यो कस्तो विकास, जसमा विकास क्रमबद्ध रुपमा होईन, समानान्तर हुन जरूरी हुन गयो। सम्पूर्ण एकै पटक। सम्पूर्ण ठाउँमा एकै पटक। त्यो पनि भविष्यमा यसले निम्त्याउन सक्ने वातावरणीय प्रभावको ठ्याम्मै लेखाजोखा नगरिकन। ई.आई.ए. हुँदो होला, तर त्यो अदना ठेली रिपोर्ट राजनीति र अनेक चलखेलको भुमरीमा रन्थनिएर कुनै हाकिमको दराजको कुनोमा जाकिँदो हो अथवा कतै धूलोको आहालमा वेपत्ता हुँदो हो। फलत: उपत्यका यस्तो देखिंदैछ, मानौ भूइंचालोले पुन: एकपटक थिलथिलो भएको छ। युद्धस्तरको विकास भन्छन् यसलाई, शक्तिशाली कुर्सीमा विराजमानहरुले। त्यही भएर होला शायद उपत्यका पूरै युद्ध मैदान झैं देखिन थालेको छ। जताततै धूलो, धुवाँ, बनाउंदा बनाउंदै अधकल्चो छोडिएका अनि जथाभावी बन्दै गरेका संरचनाहरु।

अब एकछिन यात्रा तिर फर्कुं है त। पुरानो नैकापको चौतारीबाट तल्तिर नओर्लिकन दायाँ लागेपछि आउने ठाडो उकालो सकेपछि सिधै लाग्यो भने नैकाप भिलेज रिसोर्ट हुँदै गुम्बा पुग्छ। त्यही बाटो अझ अगाडी गयो भने बिन्धवासिनी मन्दिर र स्विट्जर्ल्याण्ड पार्क पुग्छ। मज्जाले घुम्ने नै हो भने त्यो बाटो हुँदै इन्द्रदह र कालु पाण्डेको समाधिसम्मै पुगिन्छ, र पातलेबन रिसोर्ट हुंदै नागढुङ्गा झर्न मिल्छ। तर म भने त्यो लामो बाटो नगई दायाँ मोडें, कंकाली माईको मन्दिर जाने बाटो तर्फ। कंकाली मन्दिर पुग्ने बेलामा देब्रेतिर देखें, बिना रिटेनिङ्ग वाल (पहरो खस्न नदिन टेवा दिन बनाइने पर्खाल) को करीव चालीस पचास फिट अग्लो पहरो – खोस्रिएर छ्याक्क काटिएको। हुन सक्छ प्राविधिकहरुले भन्दा हुन् कि ती ठाउँमा जियोलजिकली स्टेबल स्ट्राटा छ, पहरो खस्दैन, त्यही भएर रिटेनिङ्ग वालको जरूरत छैन। झ्वाट्ट हेर्दा भने लाग्छ कि भगवान भरोसा छोडिएको छ।

जता जान्छु, देख्छु, गोरेटो बाटो सडकमा बदलिएको छ। यस्तो लाग्छ मानौं अब सबैलाई आँगनसम्मै सडक चाहिएको छ। पहाडको टुप्पैमा घर किन नहोस्, सडक आँगनैसम्म चाहियो, चाहियो। हुन त आफ्नो घरको आँगनसम्म सडक पुगेको को चाहँदैन? पहाडको टुप्पोको घरदेखि नै मोटरसाईल सरर गुडाउँदै शहर पस्ने रहर कसलाई नहोला र?

यस्तै सोच्दै किटिनी भन्ज्याङ चोकबाट पश्चिमतर्फको तल्लो बाटो पकडेर भर्खर भर्खरै चाक्लो बनाएको बाटै बाटो जाँदै गर्दा एउटी गाउँले आमैले मलाई होशियार गरिन्, बाघ लाग्छ है बाबु। बूढी मान्छेले भनेको कुरो सुन्नु। मनमा कता कता चिसो पनि पस्यो। एक्लै हिंडिया छ, झ्वाम्म हाम्फाल्दै आयो भने? हुन पनि म हिंडुञ्जेल त्यो सुनसान बाटो भरि किरो मुसो हिंडेको देखिएन। तर डर भन्दा बढी ताजुब नै पनि लाग्यो। जंगलको बीचमा यो गाडी नै गुड्ने खालको बाटो केको लागि? जसमा कुनै मानिस नै हिंडदैनन्। प्रयोजन के?

यही सोच्दै मात्र थिएँ कि अगाडि देखें – जंगलको बीचमा भिरालोमै विशाल प्लटिङ्ग। बुझ्दा थाहा पाएँ, निजी रैछ। जंगल नै पनि निजी रैछ। अब कुनै रिसोर्ट नै पो बन्ने हो कि यहाँ? कोलाहल बिनाको जंगलको बीचमा बसेर पारि डांडामा चन्द्रागिरी केबल कारको लर्को हेर्दै, अनि मुनि दहचोकको गन्जागोल मानववस्तीको रमिता हेर्दै बियरको चुस्की तान्ने यो गतिलै गन्तव्य हुनसक्छ। यसरी अनकन्टार जंगल बीचको चाक्लो बाटोको रहस्य खुल्यो। विकास हुने भो, त्यस भेग वरिपरि। गाउँलेहरु पक्कै खुशी हुनेछन्। जग्गावाल झनै खुशी होलान्, जंगलको जग्गाले पनि कमाउने भो भनेर। सरकार त अझै खुशी हुने नै भो, किनकि आफ्नो कुनै सक्रिय पहल बिना नै जनता आफै जागरुक भएर समृद्धितर्फ उन्मुख भएका छन्। हाईसन्चो हैन त?

दु:खी त म पो छु। स्वार्थी जो छु।

दु:खी छु कि मेरा हिंड्ने गोरेटोहरु भत्किँदैछन् भनेर। दु:खी छु कि मेरा ती हरिया सुरुङ्ग जस्ता बाटाहरु हराउंदैछन् भनेर।

अब मलाई टाढा टाढासम्म भौंतारिनुपर्ने पो भो। नयाँ गोरेटोको खोजीमा। हरिया सुरुङ्ग जस्ता बाटाहरुको खोजीमा।

(फेसबुकमा पोष्ट गरेको मिति: २०७५ माघ १३, आइतवार)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *