छोरीको छोटो हिउँदे छुट्टी सकिनै लाग्दा घुमाउन कता लाने भनेर दिमाग खियाउंदा नजिक भएर पनि टाढा लाग्ने ठाउँ रोजें। चन्द्रागिरी पहाड पारि रहेको गाउँ – चित्लाङ। थानकोटको केबल कार चढेर भालेश्वर महादेव दर्शन गर्न जाने जो कोहीले दक्षिण पश्चिम तिर हेर्ने हो भने यो गाउँ डांडाको कापोबाट देख्न सक्छ – तल फाँटमा असरल्ल फैलिएको पुरानो बस्ती। भन्ने नै हो भने, चन्द्रागिरी पहाडलाई थपक्कै उचालेर हेर्ने हो भने दहचोकको डांडाबाट दक्षिण पश्चिम दिशाको खाल्डोमा यो गाउँ छ्याङ्गै देखिँदो हो।
चित्लाङ केही वर्ष भयो, उपत्यकावासीहरुका लागि अहम् पर्यटकीय गन्तव्य बन्दै गएको छ। साह्रै नजिक हुँदाहुँदै पनि भौगोलिक अवस्थितिले गर्दा टाढिएको यो स्थान अहिले आएर नजिकिंदै छ। हिंडेर जाँदा नै पनि दुई तीन घण्टामा मज्जाले पुगिन्छ यो ठाउँ। चन्द्रागिरी केबल कारको बेस स्टेशन भन्दा थोरै पश्चिम गएपछि गोदाम आईपुग्छ। त्यहाँबाट दक्षिणतर्फ ठाडो उकालो बनै बन उक्लिने हो भने करिब डेढ दुई घण्टामा चन्द्रागिरी भन्ज्याङ पुगिन्छ। यो भन्ज्याङ ठ्याक्कै चौबाटो नै भन्दा नि भो। देब्रे लागे भालेश्वोर पुगिन्छ भने दाहिने लागे पुरानो तामांग बस्ती – तोप्लाङ। र, सिधै खुर्मुरिंदै ठाडो डांडा झरेर थोरै खेतबारी नाघ्ने हो भने अर्को एक घण्टामा ट्वाक्राक्कै चित्लाङ पुगिन्छ। चाक्लो बाटै पनि छ गोदामदेखि, गाडी गुड्ने। तर बाटो फराकिलो गर्ने भन्दै बर्षौं भैसक्यो सवारी आवागमन अवरुद्ध छ। त्यही भएर आजकल गाडीले लाँदा फ़र्पिङ्ग हुँदै लान्छ। फ़र्पिङ्ग पुगेर त्रिभुवन आदर्श स्कुल कटेपछि दक्षिणकाली तिर नगईकन दाहिने लागेपछि हुमाने भन्ज्याङ, फाखेल हुँदै कुलेखानीको इन्द्रसरोवरको तिरैतिर मार्खु निक्लेर चित्लाङ पुर्याउँछ, धुलाम्य बाटोको साढे तीन घण्टा लामो लखतरान यात्रा गराएर।
पारिवारिक यात्राको गन्तव्य चित्लाङ अर्गानिक भिलेज रिसोर्ट भएपछि बास उतै बसिने नैं भयो। सैनिक कवाजका लागि लहरै उभिएका झैँ लाग्ने नास्पातीका बोटहरुले भरिएको विशाल फाँटको छेउमा रहेको रिसोर्टको मनोरम परिदृश्यले लखतरान यात्राको थकानलाई मलम पट्टी लगाउने काम गर्र्यो।
हामी बसेको गाउँले पाराको कटेजमा सुकुलको चकटी, सुकुलकै डोर म्याट। तर अट्याच बाथले गाउँले पारालाई बिथोल्यो। छन् त टेण्ट पनि रैछ, तर यो जाडोमा टेण्टमा बस्ने हिम्मत गर्ने कल्ले? माघको महिनामा थिर्र्याउने जाडो त हुने नै भो। राति हुँदै गएपछि शीतले मैदान पूरै सेताम्य हुने। तर क्याम्पफायरको रन्को र थोरै ‘भित्रीकोट’ लगाएपछि जाडो छूमन्तर भैहाल्यो।
भोलिपल्टको कार्यक्रममा सो गाउँको भिलेज वाक पनि सामेल रैछ र स्थानीय सुन्दर बलामी भाइले गाइडका रुपमा हाम्रो समूहलाई साथ् दिन आए। कुरो गन्ज्यांग मन्ज्यांग भए पनि उनीबाट धेरथोर कुरो थाहा भने पाईयो।
चित्लाङको पुरानो नाउँ चित्रापुर रैछ, हाम्रो यताको साँखुलाई शंखरापुर भनिए झैं। राणाको पालामा मोटर गाडी बोकाएर भिमफेदी, कुलेखानी हुँदै यही चित्लाङको बाटो उपत्यकामा ल्याईएको भन्ने कुरो त सबैलाई थाहै छ। त्यही भएर उपत्यकाबासीले भन्दा पहिला आफूहरुले गाडी देख्न छुन पाएका भनेर यहाँका बूढापाकाहरू घमण्ड गर्दा रैछन्। भन्नै परेन कि यो बाटो काठमाण्डौ उपत्यकाका लागि बन्द व्यापार गर्न ऊ बेलामा चीनको सिल्क रोड जतिकै महत्वपूर्ण हुन्थ्यो होला। उपत्यकामा उत्पादन नहुने मध्येको एक खाद्य नून पनि यहि ठाउँको बाटो हुँदै उपत्यका लगिन्थ्यो। नेवारीमा ‘चि’ भनेको नून भयो, अनि ‘लाँ’ भनेको बाटो। नून ल्याउने बाटो पर्ने भएकोले यो गाउँलाई नै ‘चि लाँ’ भनियो, र कालान्तरमा चित्लाङ पो भनिएको हो कि? हुन त चित्लाङको एउटा टोललाई अहिले पनि चिलं भनिँदो रैछ।
चित्लाङ नामाकरणको अर्को पनि कथा रैछ। सम्राट अशोक बारे चिनारी दिई रहनु नपर्ला। विश्व दिग्विजय गर्ने मनसुवा लिएर हिंडेका यिनै सम्राट युद्धको कारण भएका कारुणिक परिणामदेखि आजित भई सम्पूर्ण विजय यात्रा स्थगित गरेर बुद्धम् शरणम् गच्छामि भन्दै त्यागी बनेको कुरो त थाहै छ। र, बुद्ध धर्मको प्रचार प्रसार गर्दै नेपालको लुम्बिनीमा स्तम्भ गाडेको बारे पनि सबैलाई थाहा हुने नै भो। अब यिनले आफ्नो जीवन कालमा गर्न नसकेको कार्यलाई निरन्तरता यिनकी छोरी चारुमतीले दिन थाले। त्यसमध्ये एक चैत्य निर्माण पनि रैछ। पाटनका चार थुर (चैत्य) हरु यसैको उदाहरण हो। अर्को एक चैत्य यहीँ चित्लाङमै पनि बनाईन्। जुन अद्यापि छंदैछ। यस चित्लाङ गाउँ हुँदै उक्त चैत्य जाने बाटो (नेवारीमा लाँ) पर्ने भएकोले गाउँलाई ‘चैत्य लाँ” भनिन थालियो र कालान्तरमा अपभ्रम्श भएर चित्लाङ भएको हो भन्ने पनि जनविश्वास छ। दुवै लजिक चित्तबुझ्दो भएपनि खास कुरो के हो यकिन भन्न सकिएन।
अब आयो चन्द्रागिरी पहाडको कथा। चित्लाङबाट उत्तर पूर्व तिर फर्किने हो भने अर्धचन्द्राकार आकृतिमा पहाड फैलिएको देख्न सकिन्छ, जसको देब्रे कुनो तोप्लाङ गाउँ तर्फको सिरानी, मध्य होचो भाग चन्द्रागिरी भन्ज्यांग र दाहिने कुनो भालेश्वोर डांडाको टुप्पो रहेको छ। त्यसैले यो डांडालाई चन्द्रागिरी भनिएको रे, चन्द्र आकारको गिरी याने पहाड भएकोले। त्यस्तै महादेवले समुन्द्र मन्थनबाट उत्पत्ति भएको कालकुट विष निल्दा भएको पीडा सहन नसकेर यसै पर्वतमा पुगेर रक्त वमन गरेको थियो रे। त्यही भएर यो पर्वतलाई चण्डाल पर्वत पनि भनिँदो रैछ। मेरो लागि पनि नौलो कुरो !!
अब धार्मिक कथानक कै सिलसिलामा अर्को एउटा कुरो है त। दैत्यराज वाणासुरका बारे कतिलाई थाहा छ कुन्नि। तर फर्पिंग हुँदै चित्लाङ सम्मै पनि वाणासुर दैत्यको माहात्म्य निकै प्रचलित रहेको देखें। फर्पिङमा गोरखनाथको गुफादेखि उत्तर पश्चिममा रहेको प्राचीन खण्डहरलाई फर्पिङबासीहरु वाणासुरको दरवारको अवशेष मान्छन्। चित्लाङलाई नै पनि वाणासुरले कृष्णसंगको युद्ध पश्चात पाएको देश हो भन्ने मानिन्छ। भनेपछि चित्लाङ वाणासुरको राज्य पो पर्र्यो। कन्फ्युजन हैन त?
छोटकरीमा पौराणिक कथा के हो भने वाणासुरकी छोरी उषाको कृष्णका छोरा प्रद्युम्नका पनि छोरा अनिरुद्ध (अनिरुद्र पनि भन्दा रैछन्) संग प्रेम भएछ। अब कता दैत्य पुत्री, कता देवताका नाति। कुरो मिले पो ! घमासान युद्ध भएछ। युद्धमा अनिरुद्ध परास्त भएछ। युद्धबन्दीलाई छुटाउन बाजे कृष्ण, काका बाजे बलराम लागेपछि वाणासुरका हितैषी भोलेनाथको पनि केही लागेनछ। बन्दी बनाईएको स्थान कहाँ भन्नुहुन्छ भने उहिलेको जलकुण्ड काठमाण्डौ उपत्यका रे। कृष्ण भगवानले सुदर्शन चक्रले चोभार गल्छी सट्ट काटेपछि पानी भटाभट सबै बगेर खाली भएपछि अनिरुद्धको रेस्क्यु गर्र्या रे। मंजुश्रीले खड्गले काटेर उपत्यकाको पानी बाहिर पठाएको कथा सुन्दै आएका हामी यो अर्को कथा सुनेर पक्कै पनि रनभुल्लमा पर्छौं। खैर, चित्लाङको पश्चिमी छेउको जंगलमा वाणासुरकी छोरी उषा नुहाउन आउने भनिएको सात धारा भनेर चिनिने तीर्थस्थल अहिले पनि देख्न सक्छौं। फेरी अर्को कुरो, उपत्यका तर्फबाट हेर्दा चन्द्रागिरी पर्वतको ठिक देब्रे तिर रहेको भष्मासुर डाँडाको पछाडिको डांडालाई वाणासुर डांडा भन्ने गरिन्छ। अनि फेरि वाणासुर र अनिरुद्ध बीचको युद्ध बारेको नाच कार्तिक नाचको एउटा अङ्कको रुपमा अहिले पनि हरेक वर्ष पाटनमा नचाईन्छ। यी यावत कुराहरु सुन्दा देख्दा दैत्यराज वाणासुर बारेका पौराणिक कथनहरुमा जनविश्वास भने दरिलै देख्न सकिन्छ।
अब अन्तमा फेरी एकपल्ट इतिहासको कुरो। चित्लाङमा चन्द्र शमशेरको पालाको दरबार पनि रैछ भनेर सुन्दा अचम्मै लाग्ने नै भो। बाख्राको चीज फ्याक्ट्रीको ठ्याक्कै पछाडि। नब्बे सालको अनि भर्खरको बहत्तर सालको भुईंचालो थेगेका दुई वटा सयौं वर्ष पुराना जर्जर घरहरु दरवार रे भन्ने थाहा भो। तर अहिले दुवै दरवार श्री स्वच्छन्द भैरव स्कुल बनेछ। एउटामा पठन पाठन गरिने विद्यालय अनि अर्को चैं गुरु गुरुआमाहरुको क्वार्टर। क्वार्टर भनाउँदो भने झ्वाट्ट हेर्दा अनि नढाँटी भन्दा पशुपतिको बृद्ध आश्रम जस्तै देखिने – जर्जर अनि उराठलाग्दो।
यात्राको समापन भने मानव निर्मित विशाल तलाउको छोटो न छोटो नौका बिहारबाट भयो – ईन्द्रसरोवरमा। जसलाई हामी कुलेखानी जलाशयको नामले पनि चिन्छौं। चालिस वर्ष भन्दा पनि अघि नैं मार्खु क्षेत्रको विशाल उपत्यकाको मानव वस्ती स्थानान्तरण पश्चात् पानी जमाएर बिजुली उत्पादन गर्न सक्षम यो देश अहिले किन सानो फुच्चे रानीपोखरीमा समेत पानी जमाउन सक्दैन भन्ने कुरोमा मथिंगल खियाउँदै गर्दा डुङ्गाको सामान्य हल्लाईले विचार बिथोलियो।
अस्तु।
यात्रा मिति: २०७५ माघ ५ र ६
(फेसबुकमा पोष्ट गरेको मिति: २०७५ माघ ६, आईतवार)