Saturday Night Fever सन् १९७७ (वि.सं.२०३४ ताका) को एउटा त्यस्तो पश्चिमेली सिनेमा जस्ले एकैपटक गायक र नायकलाई रातारात चर्चाको शिखरमा पुर्यायो। तीन दाजु भाई मिलेर बनेको ब्याण्ड Bee Gees को यो टाईटल गाना सहितको एल्बम बिल्बोर्डको सूचीमा १२० हफ्तासम्म रहन सफल भएको थियो। त्यस्तै, यस अघि खासै पहिचान नबनाएका नायक John Travolta ले यस सिनेमाबाट स्वाट्टै आफ़ूलाई स्थापित तुल्याए।
मैले यहाँ चर्चा गर्न लागेको विषय यो सिनेमाको बखान भन्दा पनि यस सिनेमाले म सानो छँदा बनाएको अमिट छापको बारे हो। किनभने यो नै मैले आफ्नो जिन्दगीमा पहिलो पटक हेरेको भिडिओ फिलिम थियो। यो सिनेमा रिलिज हुँदा म दशै बर्षको हुँदो हुँ। तर त्यो बेला भिडिओको जमाना आइसकेको थिएन। सम्भ्रान्तहरुकोमा एकाध भए कुन्नि, नत्र फिलिम हेर्ने भनेको उही हलमै न हो । केहि बर्ष पछि, म यस्तै बाह्र बर्षको भईसक्या थिएँ क्यारे, त्यो बेला हंगकंग ब्यापारको चलन चल्न थालेको थियो। भिडिओ डेक र टिभी भित्रिन थालिसकेको थियो। जाउलाखेलको हाम्रो पुरानो घर संगै नयाँ घर बनिसकेको थियो। मतान तलामा कोठा बार्न बाँकी नै भएकोले सानोतिनो हल जस्तै थियो। अनि के चाहियो, त्यहिँका नौजवानहरुले कताबाट हो भिडिओ डेक अनि टिभि जुगाड गरेछन, र देखाउनलाई त्यो हाम्रो हल जस्तो कोठा उपलब्ध गराउन भनेछन्। बुवालाई पनि आफ्नो घरमै कहिल्यै नहेरेको चिज हेर्न पाउनु मज्जै हुने भो भन्ठान्नुभो। नमान्ने कुरै भएन।
शुक्रबारको राति पो थियो क्यारे, फिलिम देखाउने कार्यक्रम तय भो। ठूलै मेला लागिगो। भुसतिघ्रे जवानहरु पहिल्यै छिरिहाले। पैसा लिएर देखाको थिएन। यो त मक्खन, गुच्चा टोलमा भिडिओ देखाउने चलन आउनु भन्दा धेरै आगाडीको कुरो हो। ढोकामा एकजना धमर्धुस परेर पहरा दिईरहेका थिए । छानी छानी भित्र पठाउँदै थिए । आफूलाई भिआईपी सम्झिने नै भयो। कैयन् संग भनाभन पनि हुन्थ्यो। तर भिडिओवालाको मान्छे न ठहर्यो, पूरै यमदुतै जस्तो । धमाधम मान्छे छिर्न थाले पछि मलाई पनि औडाहा भैहाल्यो। छिर्न खोज्छु, द्वारपालले मलाई हुर्याएर बाहिर पुर्याईहाल्यो। अब यो भन्दा बढि बेईज्जति अरु के हुन सक्थ्यो। आफ्नै घरमा आफैलाई प्रवेश निषेध गरेपछि मेरो कुनै ईज्जत बाँकी रह्यो र? मेरो त्यो बेला दुखेको चित्त बारे के भन्नु खै? बल्ल तल्ल बुवाको सोर्स फोर्स लगाईवरि छिरियो।
भित्र सिनेमा हल पूरै चुरोटको धुवाँले छप्पक्कै ढाकेको थियो। श्वास फेर्नै मुश्किल ! तर गुनासो गर्ने को? फिलिम जो शुरु भैसकेको थियो। पहिलो फिलिम नै यहि थियो – Saturday Night Fever. अहिले आएर यो सिनेमा फेरी हेर्दा पो झसंग हुन्छु। सिनेमामा एक दुई दृष्य त्यो उमेरमा हेर्न लायक रैनछ। खै, त्यो बेला बुझेर हो कि नबुझेर हो, दङ्ग परेर हेरेकोसम्म याद छ।
जे होस्, त्यो बेला यो सिनेमा साह्रै घत लाग्या थियो। हिरोले निख्खर सेतो रंगको सुट लगाएर दाहिने हात छिनमा आकाश तिर छिनमा भुइँ तिर देखाउंदै नाच्ने स्टाईल मलाई औधी मन पर्या थियो । गानाहरु पनि एक से एक राम्रा। बुवाले बुझेर हो कि के हो ओके कम्पनीले निकालेको क्यासेट किनेर ल्याईदिनुुभो। सोनी कम्पनीको पुरानो क्यासेट प्लेयरमा खुब सुनियो।
अहिले पनि यो गाना कतै बजेको सुनें भने पुरानो याद ताजा हुन्छ।
***
फेसबुकमा पोष्ट गरेको मिति: २०७५ भाद्र ३० शनिवार